शनिवार , माघ २२, २०७८
बुटवल, २२ माघ ।
रोटरी क्लब अफ बुटवलको १४०० औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । क्लबका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकको एजेण्डा क्लासिफकेशन रहेको थियो ।
बैठकमा बोल्दै मेडिटेक इन्टरनेशनल एकेडेमीका प्रबन्ध निर्देशक गणेश ज्ञवालीले बारम्बार हुने नीतिगत परिवर्तनले मुलुकको स्वास्थ्य क्षेत्र सुधार हुन नसकेको बताए । स्वास्थ्य उद्यमीहरुलाई मेडिकल माफियाको आरोप लाग्ने गरेको भन्दै उनले यो गलत भएको र यसखालको भ्रम चिर्न केही समय लाग्ने बताए ।
‘सरकारले बारम्बार ऐन, नियम, निर्देशिका परिवर्तन गर्दा स्वास्थ्य संस्थाले चाहे अनुरुपको सेवासुविधा दिन सकिरहेका छैनन्’–उनले भने । ज्ञवालीले मेडिटेक हस्पिटल अहिले ५१ शैयामा सञ्चालनमा रहेको र निकट भविष्यमै एकसय शैया सञ्चालन गर्ने योजनाका साथ अघि बढिरहेको भन्दै निजी क्षेत्रका अन्य हस्पिटलहरुको तुलनामा मेडिटेकले प्रदान गर्ने सेवा स्तरीय, सस्तो र भरपर्दो रहेको दावी गरे ।
त्यस अवसरमा रोटरीयनहरु डा. मनोहर जोशी, पुरन प्रसाद श्रेष्ठ, मणिरत्न पाण्डे, डिल्ली कुमार श्रेष्ठ, रामप्रसाद खरेल लगायतले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न जिज्ञासा राखेका थिए । बैठकमा क्लबका सचिव खिमनारायण पराजुलीले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए ।
क्लबका अध्यक्ष प्रा. डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा आयोजित भर्चुअल बैठकमा रोटरीयनहरु राजेन्द्र लम्साल, लोकनाथ उपाध्याय, कृष्ण पराजुली लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij