२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

मंगलापुर-कान्छीबजार सडक निर्माण गर्न ग्लोबल टेण्डर आह्वान

शुक्रवार , माघ २१, २०७८

  • 6.7K
    Shares
  • 6.7K
    Shares
  • भैरहवा, २१ माघ । 
    रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मंगलापुर-कान्छीबजार सडक निर्माणको लागि ग्लोबल टेण्डर आह्वान भएको छ । ग्लोबल टेण्डरबाट निर्माण हुन थालेको यो तिलोत्तमा नगरपालिकाको पहिलो विकास आयोजना हो । सडक निर्माणको लागि योग्यता पुगेका अन्तर्राष्ट्रिय निर्माण कम्पनीले पनि टेण्डरमा सहभागी हुन पाउने छन् ।

    मंगलापुर-कान्छीबजार सडक विश्व बैंकको सहयोगमा सहरी विकास मन्त्रालयको शहरी शासकीय तथा पूर्वाधार आयोजना (एन.यु.जी.आई.पी) मार्फत् निर्माण हुन थालेको हो । निकैं लामो तयारीपछि विभिन्न प्रक्रिया पार गर्दै सडक निर्माणको लागि शुक्रबार टेण्डर आह्वान भएको छ ।

    ग्लोबल टेण्डरमा निर्माण कम्पनीहरुले सूचना प्रकाशित भएको ४५ दिनभित्र आवेदन गर्न सक्नेछन् । कार्यसम्झौताको दुई वर्ष भित्र निर्माण सक्ने गरी तिलोत्तमा नगरपालिकाले टेण्डर आह्वान भएको हो ।

    नगरप्रमुख बासुदेव घिमिरेले विभिन्न प्रक्रिया पार गर्दै सडक निर्माणको लागि टेण्डर आह्वान हुनु सबैको लागि खुशीको कुरा रहेको बताउँदै यो सडक यस क्षेत्रकैं लागि नमूना हुने विश्वास व्यक्त गरे । सडक निर्माणको लागि स्थानीयस्तरमा छलफल, वातावरणीय प्रभाव मूल्यांकन लगायतका सम्पूर्ण प्रक्रिया पूरा भइसकेका छन् ।

    अस्फाल्ट मेट्रियलको प्रयोग हुने यो सडक आयोजनाको कुल लागत ७९ करोड ५५ लाख रहेको नगरपालिकाका योजना प्रमुख ई. प्रदीप वनले जानकारी दिए । सडक निर्माणको क्रममा खानेपानी, विद्युत्, टेलिफोनका पोल व्यवस्थापनका सबै काम हुनेछन् । फुटपाथ, नालीसहित ४३ फुट कायम गरिएको यो सडक पहिलो चरणमा ५ किलोमिटर निर्माणको लागि टेण्डर आह्वान भएको हो । बाँकी रोहिणी पुलसम्मको सडक निर्माणको काम क्रमशः अघि बढ्ने नगरपालिकाले जनाएको छ ।

    सडक निर्माण गर्न टेण्डर आह्वान भएसँगै स्थानीय बासिन्दाले खुशी व्यक्त गरेका छन् । स्थानीय माधव पन्थीले ढिलैं भए पनि यस क्षेत्रकैं नमूना र स्तरीय सडक निर्माण गर्नेगरी टेण्डर आह्वान भएको सूचनाले आफूहरु निकैं उत्साहित भएको बताए । मंगलापुर-कान्छीबजार वडा नं. ७, वडा नं. ९ र वडा नं. १० मा पर्दछ ।

    सडक निर्माणको लागि नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरी, वडाध्यक्षहरु दुर्गा पाण्डेय, नारायण न्यौपाने, व्यासमुन चौधरी लगायतका जनप्रतिनिधिहरुले विश्व बैंकका प्रतिनिधि तथा स्थानीय बासिन्दासँग विभिन्न चरणमा छलफल एवं अन्तरक्रिया गरेका थिए ।  

    यो सडक निर्माणपछि परियोजना अन्तरगत नगरका अन्य प्रमुख सडक निर्माणको काम समेत अघि बढ्ने बताइएको छ । नगरपालिकाले नगरका अन्य प्रमुख सडकहरुलाई समेत स्तरीय कालोपत्रे गर्न परियोजनामार्फत् विश्व बैंकसँग प्रस्ताव गरेको छ ।