
बिहिवार , माघ २०, २०७८
बुटवल, २० माघ ।
रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले रुपन्देहीको दुधराक्ष स्वास्थ्य चौकीको लागि सेमि एनलाईजर मेसिन र त्यसका लागि चाहिने आवश्यक केमिकल हस्तान्तरण गरेको छ । अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी, व्यवसायी र कर्मचारीबाट एक–एक रुपैयाँ संकलन गरिएको सहयोग राशीले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य संस्था व्यवस्थापन समितिका प्रमुख एवं वडा नम्बर ६ का वडाअध्यक्ष वसन्त पाण्डेको अध्यक्षता र सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा दुधराक्ष स्वास्थ्य चौकीका इञ्चार्ज पोखरेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीले कार्यक्रम व्यवस्थापन, सहजीकरण गरेका थिए । भर्चुअल रुपमा रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाका प्रतिनिधि समेत सहभागी कार्यक्रममा सञ्जालका निवर्तमान अध्यक्ष इश्वर पोखरेलले प्रत्यक्ष सहभागिता जनाई सेमि एनलाईजर मेसिन र केमिकल नगर प्रमुख कार्कीलाई हस्तान्तरण गरेका थिए ।
रुपन्देही सामाजिक सञ्जालले हालसम्म गरेका कार्यक्रमको जानकारी दिंदै कार्यक्रम संयोजक एवं सञ्जालका उपाध्यक्ष दिवाकर काफ्लेले मन्तव्य व्यक्त गरेका थिए । रुपन्देही सामाजिक सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेलले सामाजिक हित र परोपकारी कार्यक्रमा लागि जिल्लामा रहेका सरोकारवालासँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा वडा नम्बर ७ का वडाअध्यक्ष डिलाराम बेलबासे, कार्यपालिका सदस्य ईश्वरी भण्डारी, वडा सदस्य केशरबहादुर बम्वरेल, स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्थाका प्रतिनिधिहरु, समाजसेवी एवं सञ्चारकर्मीहरुको सहभागिता थियो ।
सेवाग्राहीलाई सेवा लिन सहज होस् भन्ने उद्देश्यले सो मेसिन प्रदान गरिएको हो । यसको प्रयोगले मृगौलाको परीक्षण, रगतमा फ्याटको अवस्था कस्तो छ ? कोल्डस्टोरको मात्रा कति छ भन्ने थाहा पाउन सकिन्छ । त्यस अवसरमा नगरप्रमुख कार्कीले रुपन्देही सामाजिक सञ्जालले गरेको कार्य प्रशंसनीय रहेको भन्दै आगामी दिनमा पनि सहकार्य गर्ने बताएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij