
बुधवार , माघ १९, २०७८
काठमाडौं, १९ माघ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि घाटा न्यूनीकरण भने हुन नसकेको निगमको दाबी छ ।
विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका कारण निगमको घाटा न्यूनीकरणमा चुनौती थपिएको प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले फेब्रुअरी १ तारिखमा नयाँ मूल्य सूची पठाएको छ । पन्ध्र दिनअघिको तुलनामा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।
नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ९२ पैसा, डिजेलमा प्रतिलिटर सात रुपैयाँ २४ पैसा, मट्टितेलमा प्रतिलिटर आठ रुपैयाँ ८० पैसा तथा हवाई इन्धनमा प्रतिलिटर सात रुपैयाँ ४८ पैसा बढेको छ । एलपी ग्यासमा प्रतिसिलिण्डर ८१ रुपैयाँ ६२ पैसा घटेको छ ।
निगमले गए राति १२ बजेदेखि डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको छ । यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्यमा प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरिएको छ ।
मूल्य बढेसँगै डिजेल र मट्टितेल प्रलिलिटर १२५ तथा पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य अहिलेसम्मकै बढी हो । यसअघि २०७० सालमा नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर रु १४० पुगेको थियो । एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।
निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० ले वृद्धि गरी प्रतिलिटर ११६ रुपैयाँ पुर्याएको छ । त्यस्तै अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी एक हजार ९५ अमेरिकी डलर पुर्याइएको छ ।
पेट्रोलियम पदार्थको मूल्य बढेको भए पनि अझै मासिक साढे चार अर्ब घाटा रहेको निगमले जनाएको छ । मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा करिब दुई अर्ब २३ करोड घाटा रहेको प्रवक्ता उपाध्यायको भनाइ छ । मूल्य वृद्धिपछि पनि आगामी १५ दिनमा पेट्रोलमा ४३ करोड, डिजेलमा एक अर्ब एक करोड र एलपी ग्यासमा करिब एक अर्ब रुपैयाँ घाटा हुने निगमको प्रक्षेपण छ ।
निगमलाई मट्टितेल तथा हवाई इन्धनमा भने सामान्य नाफा छ । पन्ध्र दिनमा मट्टितेलको बिक्रीबाट दुई करोड, हवाई इन्धन (आन्तरिकतर्फ) तीन करोड र हवाई इन्धन (बाह्यतर्फ) १६ करोड नाफा हुने निगमको आँकलन छ । डिजेल, पेट्रोल र ग्यासको उच्च घाटा मट्टितेल तथा हवाई इन्धनको बिक्रीबाट पूर्ति हुन नसक्ने निगमले जनाएको छ । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij