मंगलवार , माघ १८, २०७८
भैरहवा, १८ माघ ।
मालपोत कार्यालय मझगावामा रातीको समयमा पनि काम हुने गरेको छ । लेखापढी व्यवसायी र कार्यालयका कर्मचारीको मिलोमतोमा सेटिङ्गमा रातीमा काम हुने गरेको खुलेको हो ।
सेवाग्राहीको गुनासोपछि सोमबार १७ गते राती करिब ९ बजे कोटहीमाई गाउँपालिका–५ स्थित मालमोत कार्यालय मझगावामा पत्रकार पुग्दा मालपोतमा काम गरिरहेका थिए । पत्रकारहरूको टोलीले रातीमा काम भइरहेको प्रमाण समेत भेटाएको छ ।
रातीमा कार्यालयका कोठाहरू खुल्लै थिए, दराज र फाइलहरू खोलिएका थिए । स्थानीय पत्रकार त्यहाँ पुग्दा कार्यालय प्रमुख तिलक रावत, कम्प्युटर अपरेटर रबिन्द्र पाण्डे र लेखापढी व्यवसायी रामब्रत गुप्ताले काम गरिरहेका थिए ।
पत्रकारको टोली पुगेको देखेर कार्यालयमा काम गरिरहेका कर्मचारी र लेखापढी व्यवसायीले भागाभाग गरेका थिए । उनीहरू कार्यालयको साइड ढोका खोलेर बाहिर निस्केका थिए । मूल ढोका बन्द गरिएको कार्यालयभित्र काम भइरहेको देखेपछि, ‘भित्र के हुँदैछ, को को हुनुहुन्छ?’ भन्दै चिच्याउन थाल्दा कार्यालय प्रमुख रावतले साइड ढोका खोलेपछि पत्रकारको टोली भित्र प्रवेश गरेको थियो ।
यति राती कार्यालयका कोठा, दराज र फाइल खोलेर के गरेको भन्ने जिज्ञासामा लेखापढी व्यवसायी गुप्ताले तिलकमा जान लागेको हास्यास्पद जवाफ फर्काए भने कार्यालय प्रमुखले चलिरहेको जेनेरेटर आफै बन्द गरी कार्यालय बन्द गर्न कम्प्युटर अपरेटर पाण्डेलाइ अह्राउँदै बाहिर निस्के ।
मालपोत कार्यालय मझगावा रूपन्देहीका कार्यालय प्रमुख तिलक रावतले खासै काम नगरेको भन्दै सुधार्ने मौका दिन पत्रकारको टोलीलाई अनुरोध गरे । उनी आफैले रातीमा कार्यालय खोलेर गल्ती गरेको स्वीकारे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij