२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

बाल मन्दिरका बालबालिकालाई न्यानो कपडा वितरण

मंगलवार , माघ १८, २०७८

बुटवल, १८ माघ । 
रुपन्देहीमा बालबालिकालाई न्यानो कपडा तथा पोशाक वितरण गरिएको छ । नेपाल बाल संगठन रुपन्देहीले मंगलबार बुटवलस्थित बाल मन्दिरमा ४३ जना बालबालिकाहरुलाई न्यानो कपडा तथा पोशाक वितरण गरेको हो ।

कपडा वितरण कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले यस अभियानले विद्यार्थीलाई नियमित विद्यालयमा आउने वातावरण बन्ने बताइन् । सडकमा छोडिएका बालबालिकालाई उपमहानगरपालिकाले अभिभावकत्व ग्रहण गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरिन् । बाल अधिकारका निम्ति नेपाल बाल संगठनले खेलेको भुमिकाको उनले प्रशंसा समेत गरिन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का कार्यवाहक वडाअध्यक्ष यम बराल, बुटवल उपमहानगरपालिका बाल अधिकार संरक्षण समितिका संयोजक विमला क्षेष्ठ, नमस्ते किड्स नेपालका अध्यक्ष सरु थापा, नेपाल स्काउट लुम्बिनी प्रदेश संयोजक दिनानाथ भट्टराई, बाल मन्दिरका प्रधानाध्यापक सीता पाण्डे लगायतले बोल्दै विद्यार्थीहरुको आवश्यकतालाई बुझेर न्यानो कपडा तथा स्कुल पोशाक वितरण कार्य सकारात्मक कदम भएको बताएका थिए ।

नेपाल बाल संगठन रुपन्देहीका अध्यक्ष साजन भण्डारीले बालबालिकालाई परेको अप्ठेरोमा बाल संगठन सदैव साथ दिन तयार रहेको बताएका थिए । संगठनका सचिव कल्पना पांडे मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।