
सोमवार , माघ १७, २०७८
तिलोत्तमा, १७ माघ ।
तिलोत्तमा जेसीजको १० औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । जेसीज वर्ष २०२२ का लागि निर्वाचित विनित भट्टराईलाई वर्ष २०२१ का अध्यक्ष बासुदेव शर्माले एक कार्यक्रमकाबीच पद हस्तान्तरण गरे ।
तिलोत्तमाको योगिकुटीमा आयोजित कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले लोकतन्त्रको रक्षाको लागी दलहरुले विधि र पद्दतिलाई आत्मसाथ गर्नुपर्ने बताए । उनले राजनीतिक दलहरुले जेसीजको जस्तो विधि र पद्दतिलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । नेपाली समाजमा लोकतन्त्रको सही रुपमा प्रयोग गर्न, लोकतान्त्रिक पद्दतिको निर्माण गर्नको लागि जेसीजको जस्तो व्यक्तिको शासन नभई समाजमा विधिको शासन निर्माण गर्नुपर्ने बताए । उनले नेपालको राजनीतिक दलका संयन्त्रले समाजमा सही अर्थमा लोकतान्त्रिकरण गर्न नसक्दा लोकतन्त्रप्रति बितृष्णा जागेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै नेता पौडेलले मलुकका युवा जनशक्तिलाई उत्पादनमा लगाउन सके रोजगारीका नाममा युवाहरु विदेश पलायन हुने परिपाटी रोक्न सकिने बताए । नेपालका विभिन्न राजनीतिक दलहरुले आफ्नो दलीय स्वार्थ परिपूर्तिका लगि युवाहरु संगठित गरेको बताउँदै दलहरुले युवा लक्षित कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए । नेता पौडेलले समाजसेवा, सामाजिक मनोविज्ञान निर्माण र समाजलाई लोकतान्त्रिकरण गर्नको लागी नेपाल जेसीज जस्तै अन्य संस्थाहरु पनि प्रतिबद्ध हुनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा बोल्दै नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अनिल बहादुर शाहीले जेसीजले समाजका लागी योगदान गर्ने आत्मनिर्भर नागरिक निर्माणमा योगदान गरेको उल्लेख गर्दै जेसीजले देशैभर नेतृत्व विकास र मानवीय सेवामा खेलेको भूमिकाको चर्चा गरे ।
कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष जीवन कार्की, मातृ–शाखा सिद्धार्थनगर जेसीजका अध्यक्ष गोपाल ज्ञवाली, तिलोत्तमा जेसीजका संस्थापक अध्यक्ष बिनोद ढकाल, निर्वाचन आयुक्त लोक प्रसाद भण्डारी राजु, निर्वतमान अध्यक्ष बासुदेव शर्मा लगायतले शुभकामना दिएका थिए । नवनिर्वाचित अध्यक्ष भट्टराईले आगामी कार्ययोजना प्रस्तुत गर्दै यस बर्ष तिलोत्तमा जेसीजको मुख्य थिम “ ब्रिज द ग्याप” रहेको व्यानर अनावरण गरे ।
तिलोत्तमा जेसीजको वर्ष २०२२ का लागि अध्यक्ष भट्टराईसँगै कार्यकारिणी उपाध्यक्षमा दिपक घिमिरे, राम रोक्का, उपाध्यक्षमा विजय न्यौपाने, प्रथम पराजुली, प्रकाश न्यौपाने र कमल कंडेल निर्वाचित भएका थिए । त्यस्तै महासचिवमा प्रकाश गौतम, कोषाध्यक्षमा सन्दिप पौडेल र कानूनी सल्लाहकारमा महेश शर्मा पौडेललाई अध्यक्ष भट्टराईले मनोनित गर्नुभएको कार्यक्रम संयोजक सन्दिप पौडेलले जानकारी दिए ।
कार्यक्रम संयोजक सन्दिप पौडेलको स्वागत रहेको कार्यक्रममा तिलोत्तमा जेसीजले प्रकाशन गर्दै आएको आरम्भ स्मारिका बिमोचन गरिएको थियो । सो अवसरमा तिलोत्तमा जेसीजका पूर्व अध्यक्षहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने जेसीज वर्ष २०२१ मा नयाँ सदस्य अवार्डबाट विकास गौतम, उत्कृष्ट मनोनित सदस्यबाट प्रथम पराजुली, जेसीज अफ द इयरबाट प्रकाश गौतम र आउट स्टान्डीङ्ग फर्ममेन्सबाट नवविर्वाचित अध्यक्ष विनित भट्टराई सम्मानित भएका थिए । संस्थाका महासचिव प्रकाश गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij