
सोमवार , माघ १७, २०७८
भैरहवा, १७ माघ ।
छिमेकी मित्र राष्ट्र चीनको नयाँ वर्षको अवसरमा नेपाल चीन मैत्री समाज लुम्बिनीले भैरहवामा अन्तरक्रिया एवं शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । चीनले अंग्रेजी वर्षको फेब्रुअरी १ तारिखलाई नयाँ वर्ष तथा राष्ट्रिय दिवसका रुपमा मनाउने गर्दछ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले विश्वकै बलियो अर्थतन्त्र र सबैभन्दा धेरै जनसंख्या भएको नजिकैको छिमेकी मुलुक चीनसंगको सम्बन्ध अझ बलियो र जनस्तरमा विस्तार गरी नेपालले लाभ लिन सक्नुपर्नेमा जोड दिए ।
सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेले लुम्बिनी र बुद्धिजमलाई छिमेकी देश चीनसंगको सम्बन्धको प्राथमिकतामा राखेर चिनिया बौद्धमार्गीलाई लुम्बिनी भ्रमणमा ल्याउन सबैले भूमिका खेल्नुपर्ने बताइन् । करिब डेढ अर्ब जनसंख्या भएको चीनमा बौद्धमार्गीको बाहुल्यता भएकाले उनीहरुलाई नेपालमा आकर्षित गरी पर्यटनबाट लाभ लिन सकिने उनको भनाइ थियो ।
नेपाल चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण प्रसाद सापकोटाले चीन नेपालको असल र सहयोगी छिमेकी भएको उल्लेख गर्दै चिनिया राष्ट्रपति सी जिन फिङको कुशल नेतृत्व, चिनयिा जनताको मेहनत र अनुशासन तथा चीनको आर्थिक प्रगतिबाट नेपालले पाठ सिक्नुपर्ने बताए । उनले चिनियां नयाँ वर्ष र चीनले आयोजना गर्न लागेको ओलम्पिक प्रतियोगिताको सफलताको शुभकामना समेत दिए ।
कार्यक्रममा सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराई, साहित्यकार विजय सागर श्रेष्ठ, समाजका महासचिव मनिष जोशी, कोषाध्यक्ष जनकराज पन्त लगायतले चीनले नयाँ वर्ष र राष्ट्रिय दिवसमा आफ्ना नागरिकलाई एक साता विदा दिने हुँदा सो विदाको अवधिमा चिनिया नागरिकलाई लुम्बिनी भ्रमणमा आकर्षित गर्नेतर्फ नेपाल सरकारको ध्यान जानुपर्ने सुझाव दिए । –
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij