आइतवार , माघ १६, २०७८
बुटवल, १६ माघ ।
बुटवलमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको रुपन्देही उद्योग संघको पहल तथा नेतृत्वमा स्थलगत अनुगमन तथा कामको बारेमा जानकारी लिएको संघले जनाएको छ । अनुगमनका क्रममा त्यहाँ भइरहेको काममा देखिएको सुस्तताप्रति उनीहरुले चासो व्यक्त गर्दै चाँडो भन्दा चाडो काम सम्पन्न गर्न उनीहरुले अनुरोध गरेका थिए ।
बुटवल उपमहानगरपालिका–१०, रामनगरस्थित बुटवल मण्डपमा बन्दै गरेको अन्तर्राष्ट्रिय स्तरको उच्च प्रविधियुक्त ‘अन्तराष्ट्रिय प्रदर्शनी केन्द्र’ को संघका अध्यक्ष माधव प्रसाद पौडेलको नेतृत्वमा रहेको टोलीले निर्माणस्थल बुटवल मण्डपमा पुगेर कामको अवस्था र गतिविधिका बारेमा जानकारी लिनुका साथै निर्माणको कामलाई तीव्र रुपमा बढाउन आग्रह गरेको थियो ।
स्थलगत निरीक्षण पछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष पौडेलले प्रदर्शनी केन्द्रमा उद्योगीहरुले आशा गरे जस्तो गरि काम नभएको र यो गतिमा काम भएमा समयमा नसकिने होकि भन्ने चिन्ता लागेको बताए । अध्यक्ष पौडेलले यस क्षेत्रका उद्योगीहरुको पहल र सक्रियतामा बन्दै गरेको प्रदर्शनी स्थलको निर्माण कार्य द्रुत गतिमा गर्न आग्रह गर्दै निर्माण सम्पन्न भएमा यस क्षेत्रको आर्थिक तथा औद्योगिक विकासमा निकै ठूलो परिर्वतन आउने आशा व्यक्त गरे ।
संघका पूर्व अध्यक्ष तथा सल्लाहकार समितिका संयोजक दिनेशराज रेग्मीले प्रदर्शनीस्थलको अवलोकन गर्दा निराश बनाएको उल्लेख गर्दै तोकिएको समयमा काम सक्ने गरी सम्बबन्धित निकायले ध्यान दिनुपर्ने सुझाव दिए ।
संघका निवर्तमान अध्यक्ष बाबुराम बोहोराले प्रदर्शनी केन्द्र यस क्षेत्रकै गहना भएकोले त्यसको रेखदेख र खबरदारी गर्ने जिम्मेवारी सबैको भएको हुँदा कामको गति बढाउने गरी दबाब सिर्जना गर्न अनुरोध गरे ।
स्थलगत टोलीमा संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा, प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, द्वितीय उपाध्यक्ष जिवकान्त काफ्ले, महासचिव हरि बहादुर खत्री, सचिव बसन्त ढकाल, सह–कोषाध्यक्ष सुरेन्द्र ज्ञवाली, संघका प्रमुख कार्यकारी प्रमुख यादव प्रसाद भण्डारी, प्राविधिक सल्लाहाकार ई. सुमन श्रेष्ठ, कार्य समिति सदस्यहरु एवं सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
एक अर्ब दुई करोडको लागतमा निर्माण हुने बुटवल प्रदर्शनी केन्द्रको पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले २०७६ जेठ २३ गते सोमबार शिलान्यास गरेका थिए । २७ महिनामा निर्माणसम्पन्न गर्ने गरी थालिएको केन्द्रको काम हाल ३७ प्रतिशत मात्र भएको जनाइएको छ । नेपाल सरकारको सहरी विकास मन्त्रालय, शहरी विकास र भवन निर्माण विभाग अन्तर्गत प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइले ग्लोबल टेन्डर आह्वान गरेर क्यापासिट इन्फ्रा प्रोजेक्ट्स–गौरी पार्वती जेभी कम्पनीले ठेक्का लिएको थियो । बुटवल मण्डपमा १० विघामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र ६ बिघा क्षेत्रमा व्यवस्थित प्रदर्शनी केन्द्र बनाउने योजना अनुसार काम भइरहेको छ ।
प्रदर्शनी केन्द्र मुलुककै ठूलो र आकर्षक हुने दावी गरिएको छ । प्रदर्शनी केन्द्रमै हरियालीसहितका चिल्डेन पार्क, आधुनिक बैठक कक्ष, व्यवस्थित पार्किङ क्षेत्रसहित हरियालीयुक्त वातावरणका पेभेलियनहरु तयार पारिने बताइएको छ । प्रदर्शनीका लागि ट्रष्ट सिस्टमको ठूलो हलमा १२ हजार स्क्वायर मिटरमा प्रदर्शनी गर्न मिल्ने गरी मूल स्थलको डिजाइन गरिएको छ । जसमा ८ सय वटासम्म स्टलहरु राख्न मिल्ने गरी ३ वटा ब्लकको काम भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij