बिहिवार , माघ १३, २०७८
काठमाडौं, १३ माघ ।
गृह मन्त्रालयले सम्बन्धित व्यक्तिको सहमति बिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारवाही हुने चेतावनी दिएको छ ।
मन्त्रालयले बिहीबार एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमति बिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमति/अनुमति बिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको छ ।
सार्वजनिक स्थलमा ख्यालठट्टाका नाममा गोप्य रूपमा भिडियो तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो मन्त्रालयलाई प्राप्त भएकाले सर्वसाधारणलाई शारीरिक तथा मानसिक सास्ती दिने जस्ता गतिविधि नगर्न गृह मन्त्रालयले सम्बद्ध सबैलाई सचेत गराएको छ ।
सार्वजनिक स्थलमा गरिएका भद्दा ख्याल ठट्टाबाट पीडित व्यक्तिमा मानसिक तनाव उत्पन्न हुन सक्ने, वादविवाद र द्वन्द्व तथा सामाजिक सद्भाव एवं शान्ति सुव्यवस्थामा पर्न सक्ने नकारात्मक प्रभावका साथै व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा पर्न सक्ने असरलाई दृष्टिगत गरी व्यक्तिको अनुमति बिना व्यक्तिको तस्बिर र भिडियो नखिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन नगर्न मन्त्रालयले सचेत गराएको हो । रासस
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij