२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

डोटीमा क्युआर कोडबाट रकम भुक्तानी दिन सुरु

सोमवार , माघ १०, २०७८

डोटी, १० माघ ।
राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाले जिल्लामा पहिलोपटक क्युआर कोडबाट रकम भुक्तानी गर्न सुरु गरेको छ । बैंकमा खाता खोलेका तथा मोबाइल बैंकिङ भएका ग्राहकको सहजताका लागि जिल्लामै पहिलोपटक उक्त सेवाबाट भुक्तानी दिन सुरु गरेको राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाका प्रबन्धक गणेश बहादुर विष्टले बताए ।

उनले भने, “ग्राहकको सहजताका लागि हामीले आजदेखि पहिलोपटक क्युआर कोडबाट रकम भुक्तानी दिने व्यवस्था मिलाएका छौँ, जसले गर्दा ग्राहकलाइ सहज हुनेछ ।” उहाँका अनुसार क्युआर कोड भनेको चेक नचाहिने तथा मोबाइल बैंकिङ भएका ग्राहकले सिधै बैंकमा आएर आफ्नो मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरेपछि चाहेको जति रकम झिक्न पाउने व्यवस्था मिलाइएको छ । 

ग्राहकले एकपटकमा न्यूनतम रु ५०० देखि एक लाखसम्म रकम उक्त क्युआर सेवाबाट झिक्न सक्ने प्रबन्ध मिलाइएको राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाले जनाएको छ । उक्त सेवा प्रयोग गर्दा ग्राहकलाई सहज, झन्झटरहित तथा छिटो तरिकाबाट भुक्तानी हुने भएकाले बैंकमा पालो कुर्नुपर्ने समस्याको पनि समाधान हुने सहायक शाखा प्रबन्धक सुबोधकुमार पाण्डेयले जानकारी दिए । रासस