
सोमवार , माघ १०, २०७८
बुटवल, १० माघ ।
पर्यटन क्षेत्रमा दक्ष कामदार उत्पादन गर्ने उद्देश्यसहित बुटवलमा आइतबारदेखि १० महिने पेशागत कुक तालिम सुरू भएको छ । नेपाल सरकार र स्वीस सरकारको आर्थिक तथा देउराली जनता प्राविधिक शिक्षालय बुटवलको प्राविधिक सहयोग र होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको संमन्वयमा तालिम दिन सुरु गरिएको होे ।
तालिम तथा अभिमुखीकरण कार्यक्रमको होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले शुभारम्भ गरेका हुन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रूपन्देहीको समन्वयमा यस क्षेत्रमा यति ठूलो र व्यवसायिक तालिम पहिलो पटक आयोजना गरिएको हो ।
सो अवसरमा बोल्दै नेपालले यस क्षेत्रमा होटल रेष्टुरेन्टहरुमा दक्ष कामदारको अभाव भएको भन्दै तालिम लिएर दक्ष भएकाहरुलाई रोजगारीको कुनै अभाव नहुने बताए । उनले बुटवल तथा यस आसपासको क्षेत्र पर्यटनको ‘हब’ को रूपमा विकास भएको भन्दै स्तरीय र सुविधासम्पन्न होटलमा काम गर्न तालिम अपरिहार्य रहेको बताए ।
१ हजार ६९६ घण्टे तालीममा ४० जना युवायुवतीको सहभागिता रहेको छ । तालिम सीटीइभिटीको पाठ्यक्रम अनुसार पढाउने/सिकाइने छ । तालिम प्रदायक संस्था देउराली जनता प्राविधिक शिक्षालयका कार्यक्रम संयोजक लक्ष्मण रानाले तालिमले कामदारको रोजगार क्षमतामा धेरै सुधार ल्याउने र व्ष्यवसाय गर्न चाहनेहरुलाई निकै फलदायी हुने बताए ।
कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ, रूपन्देहीका अध्यक्ष राम प्रसाद गौतमले पछिल्लो समयमा होटल तथा पर्यटन क्षेत्रमा लगानी बढदै गरेकोमा दक्ष कामदारको अभाव भएकोले तालिमले शिपमूलक जनशक्ति तयार गर्न आफूहरुले प्रयास थालेको बताए । उनले यो तालिमको सफलतासंगै यस्ता तालिम संघले निरन्तर चलाउँदै जाने बताए ।
संघको कार्यालयको भुंई तलालाई अब तालिम हलको रुपमा विकास गर्ने संघका सचिव तथा तालिम संयोजक अर्जुन थापाले बताए । तालिम पूर्ण रुपमा निःशुल्क रहेको छ । सार्वजनिक सूचना प्रकाशित गरी सहभागी छनौट गरिएको संघका महासचिव माधव कुमार खनालले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij