२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

६ महिनामै १० खर्बको आयात, व्यापार घाटा ८ खर्ब ८० अर्ब

आइतवार , माघ ९, २०७८

काठमाडौं, ९ माघ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयातसँगै निर्यातमा समेत वृद्धि भएको छ । सो अवधिमा रु ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले रु एक खर्ब १८ अर्ब ८५ करोडको मात्र निर्यात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात ५९ दशमलव १३ प्रतिशत र निर्यात ९५५ दशमलव ४८ प्रतिशतले वृद्धि भएको हो ।  

गत आर्थिक वर्षको सोही अवधिमा रु ६ खर्ब ६१ अर्ब २४ करोड ५३ लाखको आयात हुँदा नेपालले रु ६० अर्ब ७९ करोड ९२ लाखको निर्यात गरेको थियो । निर्यात बढ्दै गए पनि आयात झन धेरै बढेको हुँदा व्यापार घाटा चुलिँदै गएको छ । 

व्यापार घाटा चुलिँदै

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा व्यापार घाटा ४६ दशमलव ६४ प्रतिशतले बढेर रु आठ खर्ब ८० अर्ब ४९ करोड १७ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा रु छ खर्ब ४४ करोड ६१ लाखको व्यापार घाटा भएको थियो । 

त्यसै गरी चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मुलुकको वैदेशिक व्यापार रु ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाखको भएको छ । गत वर्षको सोही अवधिमा मुलुकको वैदेशिक व्यापार रु सात खर्ब २२ अर्ब ४५ करोडको भएको थियो । यो गत वर्षको सोही अवधिको तुलनामा ५४ दशमलव ८६ प्रतिशतले बढी हो ।

१४१ देशबाट आयात

चालु आवको पहिलो ६ महिनामा नेपालमा १४१ देशबाट रु ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख मूल्य बारबरका विदेशी वस्तुको आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार सो अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । भारतबाट सो अवधिमा रु ६ खर्ब तीन अर्ब ५४ करोड ५१ लाखको आयात भएको छ । भारतपछि चीनबाट ठूलो मात्रामा आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा चीनबाट रु एक अर्ब ४५ अर्ब ९१ करोड ३६ लाख मूल्य बराबरका वस्तु आयात भएको छ ।

त्यसै गरी नेपालले चालु आर्थिक वर्षको पहिलो छ महिनामा भारततर्फ रु ९६ अर्ब ५६ करोड तथा चीनतर्फ रु ४५ करोड ६२ लाख ४७ हजार मूल्य बराबरका वस्तु निर्यात गरेको भन्सार विभागले जनाएको छ ।