२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

पत्रकार स्व. बिन्दु चौहानको स्मृतिमा ‘पत्रकारिता पुरस्कार’

शनिवार , माघ ८, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, ८ माघ ।

    स्वर्गीय पत्रकार बिन्दु कुमार चौहानको सम्झनामा ‘स्व. बिन्दु चौहान स्मृति पत्रकारिता पुरस्कार” घोषणा भएको छ । शनिबार मधेशी पत्रकार समाज नेपाल, रुपन्देहीको मर्चवारमा बसेको बैठकले चौहानको स्मृतिमा भदौ २९ गते वितरण गर्ने गरी उक्त पुरस्कारको घोषणा गरेको हो ।

    उक्त पुरस्कार चौहानको स्मृति दिवसको अवसर पारी विभिन्न विधामा कलम चलाउने मधेशी पत्रकारहरुमध्ये मूल्यांकन गरी एक जनालाइ प्रदान गरिने समाजका सचिव हृदयराम गुप्ताले जानकारी दिए ।

    रुपन्देहीका रहि विभिन्न सञ्चार माध्यममा काम गरेका बिन्दु चौहानलाई यस पछिका पुस्ताले समेत उनको योगदान सम्झिने गरी पुरस्कारको स्थापना गरिएको गुप्ताले बताए । यसले तराई–मधेश क्षेत्रमा रहेका पत्रकारहरुलाई थप सशक्त गर्ने अपेक्षा समेत गरिएको छ ।

    समाजले बिन्दु चौहानको स्मृतिमा पत्रकारिता पुरस्कार वितरण गर्ने उद्देश्यले अक्षयकोष समेत स्थापना गर्ने निर्णय गरेको र अक्षयकोष स्थापनामा सहयोगको लागी सबैमा अपिल समेत गरेको छ ।

    यस्तै शनिबार सम्पन्न बैठकले मधेशी पत्रकार समाज रुपन्देहीका कोषाध्यक्ष रबिन्द्र प्रताप गुप्ता र सदस्य मोहम्मद हबिब प्रेस चौतारी नेपाल, रुपन्देहीको सातौं जिल्ला अधिवेशनबाट क्रमश: सह–सचिव र कार्यसमिति सदस्य पदमा निर्वाचित भएकोमा बधाई समेत ज्ञापन गरेको छ ।

    मधेशी पत्रकार समाजले कोरोना महामारीबाट जोगिदै सम्पूर्ण सञ्चारकर्मीलाई काम गर्न आग्रह गरेको छ । साथै कोरोनाबाट प्रभावित मधेशी सञ्चारकर्मीहरुको विवरण संकलन गरी उनीहरुको उपचार र राहतमा समेत पहल गर्ने बैठकले निर्णय गरेको छ ।

    बैठकका प्रमुख अतिथि मधेशी पत्रकार समाज नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति सदस्यराम विकास चौधरीले स्व.बिन्दु कुमार चौहानले रुपन्देहीको पत्रकारिता क्षेत्रमा जोखिम मोल्दै पुर्याएको योगदानबारे चर्चा गरेका थिए । उनले स्व.चौहानको निडर छवि र कार्य कुशलताको सराहना गर्दै इतिहासले उनलाई सम्मान गर्नैपर्ने बताए ।