
बुधवार , माघ ५, २०७८
भैरहवा, ५ माघ ।
रुपन्देही क्रिकेट संघको अध्यक्षमा व्यवसायी हरि बहादुर थापा निर्वाचित भएका छन् । बुधबार भैरहवामा सम्पन्न संघको चौथो अधिवेशनबाट ६४ मतका साथ थापा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी क्रिकेटर शक्ति गौचनले ४० मत प्राप्त गरेका छन् ।
त्यसै गरी उपाध्यक्षमा ६० मतसहित धिरज अधिकारी क्षेत्री, सचिवमा ६५ मतसहित संजय गुरुङ र कोषाध्यक्षमा ५३ मतसहित निरजप्रताप खाँण निर्वाचित भएका छन् । उनीहरुका प्रतिद्वन्दी राजु खड्काले ४४, दिपक शर्मा भुर्तेलले ३९ र दिपेन्द्र लाम्गादेले ४९ मत प्राप्त गरेका छन् ।
क्रिकेट संघमा थापा र गौचनले प्यानल खडा गरी निर्वाचनमा होमिएका थिए । पदाधिकारीमा अध्यक्षसहित सबै थापा समूहका निर्वाचित भएका छन् । संघको महिला सदस्यमा उमा अधिकारी निर्विरोध निर्वाचत भएकी छन् ।
त्यस्तै सदस्यहरुमा निराकार पन्त, शेषमणि चौधरी, प्रथम पराजुली, श्रीराम नेपाली, भरत थापा, उदयकुमार मल्लिक, कृष्णकुमार कुँवर, विजयसिंह ज्ञवाली, मनोज भण्डारी र पुनित पोखरेल निर्वाचित भएको निर्वाचन अधिकृत शारदा मल्लले जानकारी दिइन् ।
१०९ मतदाता रहेको संघको अधिवेशनमा १ सय ५ मत खसेको थियो । विजयी पदाधिकारीहरुलाई लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका कृष्ण देवकोटा, संघका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सचिव प्रशान्त विक्रम मल्ल र प्रमुख निर्वाचन अधिकृत कुलमणि ज्ञवालीले टीका, माला र प्रमाणपत्र प्रदान गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई मल्लले शपथ खुवाएका थिए । समारोहमा बोल्दै नवनिर्वाचित अध्यक्ष थापाले क्रिकेट विकासमा लागिरहने र नेतृत्वमा आउन नसकेका क्रिकेटप्रेमीहरुलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा संघका संस्थापक प्रेमकुमार सेञ्चुरी, सचिव संजय गुरुङ्ग, निर्वाचन समितिका सदस्य मनोरञ्जन शर्मा लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij