२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

स्थापना दिवसमा मदिरा व्यवसायी संघ भैरहवाद्वारा आर्थिक सहयोग

मंगलवार , माघ ४, २०७८

भैरहवा, ४ माघ ।
मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा आर्थिक सहयोग गरेको छ । संघले सवारी दुर्घटनामा परी उपचार गराइरहेका मार्केटिङ म्यानेजरको रुपमा कार्यरत दिपु न्यौपानेलाई आर्थिक रकम प्रदान गरेको हो ।

याक डिस्टिलरीमा कार्यरत न्यौपाने करिब १ वर्षअघि सवारी दुर्घटनामा परेर घाइते भएपछि उनको उपचारमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले १ लाख ३८ हजार ३ सय ९० रुपैयाँ हस्तान्तरण गरिएको संघका उपाध्यक्ष भागीरथ पाण्डेले बताए । ‘विगत एक वर्षदेखि भैरहवा निवासी दिपु न्यौपाने उपचार गराइरहनुभएको छ, उहाँको उपचारमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरेका हौं,  केही रकम यसअघि नै प्रदान गरिसकेका छौं भने स्थापना दिवसको अवसर पारेर मंगलबार रकम हस्तान्तरण गरिएको हो, ’पाण्डेले भने ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष मृगेन्द्र गोविन्द श्रेष्ठले विगतमा दिपु न्यौपानेले मदिरा व्यवसायी संघका विभिन्न कार्यक्रममा गर्नुभएको सहयोग प्रशंसनीय रहेको बताए । उनले आत्मबल अझ बलियो बनाउन न्यौपानेलाई आग्रह गरे । 

मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेशका सचिव चिरिञ्जीवि राउतले सवारी दुर्घटनामा परी घाइते भएका दिपु न्यौपानेको उपचारमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गर्नु प्रशंसनीय भएको बताए । 

मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले मदिरा व्यवसायलाई राज्यले हेर्ने दृष्टिकोण फरक भए पनि व्यवसायी सामाजिक कार्यमा पनि उत्तिकै लागिपरेको बताए । त्यस्तै मदिरा व्यवसायी संघ भैरहवाका कोषाध्यक्ष तथा आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम संयोजक यादव पोखरेल, संघका वरिष्ठ उपाध्यक्ष बाबुराम पाण्डे लगायतले बोलेका थिए ।

कार्यक्रममा सहभागि मदिरा व्यवसायी संघका पदाधिकारी तथा सदस्यहरुले दिपु न्यौपानेको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।