२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

कोटहीमाई गाउँपालिकाको ९ औं गाउँसभा सम्पन्न

मंगलवार , पौष २७, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, २७ पुस ।
    कोटहीमाई गाउँपालिका, रुपन्देहीको ९ औँ गाउँ सभा सम्पन्न भएको छ । विभिन्न योजना तथा ऐनहरु संशोधनसहित पारित गर्दै कोटहीमाई सभा हलमा उक्त सभा सम्पन्न भएको हो । सभाका प्रमुख अतिथि जिल्ला समन्वय समिति सदस्य सरोजा बढईले स्थानीय तह आएको ४ वर्षमा धेरै चुनौति सहितको धेरै विकास निर्माण कार्य भएको बताइन् । वर्षौदेखि अलपत्र रहेको विभिन्न सडकहरुमा हरेक किसिमको गाडी गुडने अवस्था भएको उनले बताइन् । अहिले निर्वाचित जनप्रतिनिधिहरुको केही दिन मात्र कार्यकाल रहेको हुँदा समयको सदुपयोग गरी जनप्रतिनिधि कर्मचारी र गाउँपालिकावासीहरुले मिलेर अधुरो कार्यलाई पुरा गर्न उनले आग्रह गरिन ।

    गाउँ सभाबाट कोटहीमाई गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता विधयेक २०७८, कोटहीमाई गाउँपालिकाको विनियोजन ऐन २०७८ प्रथम सांशोधन विधयेक २०७८, कोटहीमाई गाउँपालिकाको आर्थिक ऐन २०७८ लाई संशोधन गर्न बनेको विधयेक २०७८ र कोटहीमाई गाउँपालिकाको स्थानीय तहका कर्मचारी व्यवस्थापन विधयेक २०७८ पारित गरिएको गाउँपालिका अध्यक्ष चन्द्रभुषण यादवले बताए ।

    गाउँ सभालाई सम्बोधन गाउँपालिका अध्यक्ष यादवले नागरिकसंग गाउँपालिका अध्यक्ष कार्यक्रममा थप रु १० लाखसहित प्रत्येक वडामा १० लाख बजेट बिनियोजन गरेको बताए् । गाउँपालिका उपाध्यक्षको सिफारिसमा सञ्चालन हुने योजना तथा कार्यक्रममा १० लाख, वडा नम्बर ५ को बेनीनगर घाट जाने सडकमा २५ लाख, कुडसर गाउँमा पि.सि.सि. ढलानमा ३५ लाख, विभिन्न विद्यालयमा कार्यरत विभिन्न शिक्षकहरुको पारिश्रमिक वृद्धि गर्न ५० लाख बजेट विनियोजन गरेको उनले बताए ।

    चालु आ.व.मा मर्यादपुर स्वास्थ्य चौकी, मर्चवारी अधारभूत स्वास्थ्य केन्द्रको भवन, वडा नं. १, २, ४, ५, ६ र ७ का सडक कालोपत्रे योजना, वडा नम्बर ५ र २ जोडने कलवारी झोलुङ्गे पुलको निर्माण कार्यसम्पन्न हुने अध्यक्ष यादवले बताए ।

    विगतको समयमा गाउँपालिकामा देखिएको बेरुजूलाई न्यूनीकरण गर्न लेखा समितिको राय सुझावको आधारमा गाउँसभाबाट निर्णय गरी कार्य गर्ने उनले बताए । गाउँपालिका कर्मचारीको क्षमता अभिबृद्धि गरी सूचना प्रविधिको माध्यमबाट सेवा प्रवाहलाई प्रभावकारी बनाइने अध्यक्ष यादवले बताए ।

    अहिलेसम्म गाउँपालिकाभरीमा २२ हजार ४ सय ४९ जनालाई कोरोनाविरुद्धको पहिलो डोज र १० हजार ४५ जनालाई दोस्रो डोजको भ्यक्सिन लगाइसकिएको उनले बताए । गाउँपालिका भरीमा स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन प्रत्येक वडामा स्वास्थ्य चौकीबाट सेवा दिनको लागि वडा नम्बर ६ मा थप मर्चवारी आधारभूत स्वास्थ्य केन्द्रको स्थापना गरी २ वटा एम्बुलेन्स खरिद गरी राजस्व छुटको सिफारिसका लागि निवेदन दर्ता भइसकेको अध्यक्ष यादवले बताए । सुत्केरी महिलालाई सहजै स्वास्थ्य सेवा दिन घरमै निःशुल्क सुत्केरी जाँच सेवा शुभारम्भ भएको उनले बताए । आगामी दिनामा मझागावाँ स्वास्थ्य चौकीमा २४ सै घण्टा ईमरजेन्सी सेवा सुरु गर्ने, वडा नंम्बर ६ स्थित आधारभूत स्वास्थ्य केन्द्रबाट बर्थिङ्ग तथा ल्याबसहितको सेवा सञ्चालन गर्ने उनले बताए ।

    चालु आ.व. २०७८÷०७९ को कुल बजेटको १८.८७ प्रतिशत ८ करोड २७ लाख ८२ हजार १ सय ७१ रुपैया मात्र खर्च भएको कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीले बताए । चालु खर्च २५.१ प्रतिशत ७ करोड ३२ लाख ४१ हजार ३ सय ५५ रुपैया तथा पुँजीगतमा ६.४६ प्रतिशत ९५ लाख ४० हजार ८ सय १५ रुपैया खर्च भएको प्रमुख प्रशासकीय अधिकृत मरासिनीले बताए । चालु आ.व.को पुस २५ गतेसम्म वडास्तरीय १३४ योजना सम्झौता सम्पन्न भइ १२ वटा योजनाको कार्य सम्पन्न भएको उनले बताए । त्यसैगरी प्रदेशबाट समपुरक अनुदान अन्र्तगत २ वटा सडक, पकडी स्वास्थ्य चौकी, गाउँपालिकाको क्यान्टिन तथा पार्किङ्ग लगायतका योजनाको बोलपत्र सूचना प्रकाशित समेत गरिसकिएको उनले बताए ।

    सभामा कोटहीमाई गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष मिथिलेश मिश्र, वडा नम्बर ३ का वडाध्यक्ष चन्द्रभान यादव, वडा नम्बर ५ का वडाध्यक्ष हनुमान यादव, वडा नम्बर ६ का वडाध्यक्ष विनोद यादव लगायतले बोलेका थिए । कोटहीमाई गाउँपालिकाका वास संयोजक अजय सिंह क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।