यस आयोजनाले आगामी सात–आठ महिनाभित्रै बिजुली उत्पादन गर्ने आयोजनाका प्रबन्ध निर्देशक रायमाझीको भनाइ छ । उनका अनुसार यस आयोजनाको निर्माण हालसम्म ८५ प्रतिशत सम्पन्न भएको छ । आयोजनाको विद्युत्गृहको सिभिल संरचनाको निर्माण भई उपकरण जडान भइरहेको आयोजनाले जनाएको छ ।
आगामी असारभित्र बिजुली उत्पादन गर्ने कार्यतालिका
त्यस्तै गत असारमा दोर्दीखोलामा आएको बाढीपहिराले क्षति पुर्याएको आयोजनाको बाँधस्थल क्षेत्रको पुनःनिर्माण भइरहेको छ । एक हजार १०० मिटर पेनस्टक पाइप जडान भइरहेको छ । आयोजनाका प्रबन्ध निर्देशक रायमाझीले भने, ‘हामीले सबै निर्माण सम्पन्न गर्दै यही पुसभित्रमा बिजुली उत्पादन गर्ने भने पनि विविध कारणले आगामी असारभित्रमा बिजुली उत्पादन गर्ने कार्यतालिका छ ।’
कूल रु आठ अर्ब ८० करोडको लगानी रहेको आयोजनाको २२७ मिटर ठाडो पाइप (भर्टिकल साफ्ट) खन्ने काम सकिएको छ । इलेक्ट्रोमेकानिकल, टनेल र पावरहाउसभित्र भवन बनाउने काम भइरहेको छ ।
आयोजनाको विसं २०७५ भित्रै व्यावसायिक उत्पादन मिति रहेकामा विसं २०७१ मा विद्युत् खरिद सम्झौता (पिपिए) गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी भएको थियो ।
आयोजनामा सबै गरेर ५०० कर्मचारी छन् । विसं २०७५ मा निर्माण सम्पन्न नभएपछि निर्माणअवधि थप गर्दै विसं २०७७ असारसम्मको सम्झौता गरेको थियो । सो अवधिमा समेत निर्माणमा ढिलाइ भएपछि गत विसं २०७८ असारसम्म निर्माण सक्ने सम्झौता रहेको थियो । सो समयमा पनि निर्माण नसकिएपछि यही पुस महिनाभित्र बिजुली उत्पादन गर्ने आयोजनाले जनाएको थियो ।
उनका अनुसार आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन् । ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धन लगानीमा निर्माण हुँदै आएको छ । आयोजनामा प्रभावित क्षेत्रका जिल्लावासीको मात्र रु २७ करोड लगानी छ । आयोजनाले सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने (पिपिए) सम्झौता भएको छ ।
पानीको बहावमा आधारित यो आयोजनाको कुल ग्रसहेड ६४० मिटर रहने छ भने वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।