
मंगलवार , पौष २७, २०७८
चितवन, २७ पुस ।
जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । कात्तिकदेखि घट्दै गएको कोरोना संक्रमण पुसको अन्तिम साता आएर बढ्न थालेको हो ।
स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा रहेका चार वटा पिसिआर ल्याबमा गरिएको परीक्षणका क्रममा पुस २५ गते चितवनका ४० जनामा कोरोना देखिएको थियो । जिल्लाका ४५८ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा कोरोना संक्रमण देखिएको हो । पुसको तेस्रो सातासम्म ५ देखि १२ जना सम्ममा कोरोना देखिएकोमा २५ गतेको परीक्षणमा बढेर ४० पुगेको हो । यस्तै एन्टिजेन परीक्षणका क्रममा एक जनामा कोरोना संक्रमण देखिएको उनको भनाइ छ ।
उनका अनुसार संक्रमण देखिनेमा भरतपुर महानगरपालिकाका– २९, रत्ननगर नगरपालिकामा ५, माडी र राप्ती नगरपालिकामा ३/३ र खैरहनी नगरपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको हो । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ११९ जना रहेको छ । जसमध्ये सातजना होम आइसोलेशनमा र ११२ जना होम आइसोलेशनमा रहेका छन् ।
यस अघिका दिनमा संक्रमितको संख्या कम थियो । पुस २४ गते एक जनामा संक्रमण देखिएको थियो । २३ गते ११, २२ गते ९, १८ गते १२, १२ गते ६, पुस १ गते ५ जनामा संक्रमण देखिएको थियो । एकाएक यो संख्या बढेको हो ।
चालू आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने जिल्लामा साउन ७ गते २५५ जनामा कोरोना संक्रमण देखिएको थियो । साउनको महिना दैनिक २०० हाराहारीमा कोरोना संक्रमण देखिएकोमा भदौमा यो संख्या घटेर एक सयको हाराहारीमा आएको थियो ।
यस्तै असोज/कात्तिकमा ५० को हाराहारीमा रहेको कोरोना संक्रमण मंसिरमा २० देखि ३० जनामा देखिन थालेको थियो । यसरी घट्दै गएको संक्रमणको अनुपात अहिले आएर फेरि बढ्न थालेको ढकालले बताए । उनले भने, “एक सातापछि कोरोना संक्रमण दर उच्च बन्ने खतरा छ ।” सबैलाई स्वास्थ्य मापदण्डको पालना गरी काम गर्न कार्यालयले आग्रह गरेको छ । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij