गाउँपालिका सञ्चालनसम्बन्धि विभिन्न ऐन पारित
सोमवार , पौष २६, २०७८
भैरहवा, २६ पुस ।
विभिन्न ऐनहरु पारित गर्दै रोहिणी गाउँपालिकाको १० औं गाउँसभा सोमबार धकधईमा सम्पन्न भएको छ । गाउँसभाले चालू आर्थिक वर्षको प्रथम चौमासिक समीक्षा र बजेट सिलिङ्ग संशोधन गरेको छ । यस्तै सभाले कर्मचारी कल्याण कोष सञ्चालन ऐन २०७८ पारित गरेको छ ।
सभामा पेश भएको करार कर्मचारी सामाजिक सुरक्षा कार्यविधि २०७८, रोहिणी गाउँपालिकाको कृषि तथा पशुपन्छी ऐन २०७८, रोहिणी गाउँपालिकाको भूमि विधेयक २०७८, रोहिणी गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८, रोहिणी गाउँपालिकाको वन ऐन २०७८, पारित गरेको छ । त्यस्तै रोहिणी गाउँपालिकाको स्थानीय स्वास्थ्य तथा सरसफाई ऐन २०७४ को दफा ५ र दफा ३९ मा संशोधन समेत गरिएको गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले बताए ।
गाउँसभाले न्यायिक समितिको प्रतिवेदन सभामा पेश गरी पारित गराएको छ । यस्तै आर्थिक ऐनमा संशोधन, गत आर्थिक वर्षको प्रगतिको समीक्षा र प्रदेश सरकारको योजना संशोधन समेत गरिएको रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले आफ्नै कार्यकालमा गाउँपालिका भवनको शिलान्यास गर्ने बताए । उनले जिल्ला समन्वय समिति रुपन्देहीबाट जग्गा प्राप्त भएसकेको र अब छिट्टै टेण्डर आव्हान गरी शिलान्यास गरिने जनाए । उनले यो ५ वर्षमा गाउँपालिकाको विकासमा समर्पित भएको र यसमा सबै जनप्रतिनिधिले सहयोग गरेको बताउँदै सबैलाई धन्यवाद ज्ञापन समेत गरे । उनले गाउँपालिकामा सूचीकृत ग वर्गका अपांगता भएका व्यक्तिहरुलाई तत्कालको लागि ५ हजार रकम प्राप्त गर्ने र आगामी आर्थिक वर्षदेखि प्रतिमहिना नियमित रुपमा केही रकम राहत वापत उपलब्ध गराउने गाउँसभाले निर्णय गरेको जनाए ।
गाउँसभाले गाउँपालिकाका उत्कृष्ट कर्मचारीलाइ ‘रोहिणी गाउपालिका कर्मचारी पुरस्कार’ द्वारा नगदसहित पुरस्कृत समेत गरेको छ । यसरी पुरस्कृत हुनेमा महिला, बालबालिका, अपांग तथा जेष्ठ नागरिक शाखाकी जमुना शर्मा, अहेब वर्षा श्रीस र अनमी निर्मला गौड रहेका छन ।
त्यस्तै स्तरवृद्धि भएका कर्ण कुमार क्षेत्री, बढुवा भएका सब इञ्जिनियर राजकुमार मिश्र, सहायक स्तर पाँचौमा बढुवा भएका लव बहादुर घर्ती, बलिराम चौधरी र रामवृक्ष ठाकुरलाई सम्मानित गरिएको थियो । त्यस्तै कोरोना महामारीमा दिनरात नभनी खटेका कर्मचारी एंव स्वास्थ्यकर्मी र गाउँपालिकामा आएका नयाँ कर्मचारीलाई समेत सभामा सम्मानित गरिएको थियो ।
गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिवकान्ती चमार, वडा नम्बर १ का वडा अध्यक्ष आविद अलि पठान, वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष सानमती पासी, वडा नम्बर ३ का वडा अध्यक्ष वीर बहादुर क्षेत्री, वडा नम्बर ४ का वडा अध्यक्ष तारानाथ यादव, ५ का अध्यक्ष घनश्याम सिंह क्षेत्री, ६ का इन्द्रमान चौधरी, ७ का कार्यवाहक वडा अध्यक्ष दुखनी थारु, नेपाल रेडक्रस सोसाइटी धकधई उपशाखाका प्रमुख अनिल कुमार कौशल, वडा सदस्य अनरुध खरविन्द, परशुराम गुप्ता, चिन्ताहरण थारु, आलमगीर धोबी, अनिल कुमार यादव लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन गाउँपालिकाका शिक्षा मधु प्रसाद घिमिरेले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij