सोमवार , पौष २६, २०७८
राँझा, २६ पुस ।
बाँकेको राप्तीसोनारी गाउँपालिकामा आतंक मच्चाइरहेको बाघलाई नियन्त्रणमा लिन नसक्दा सर्वसाधारण त्रसित बनेका छन् । बाघले दिनहुँ आतंक मच्चाइरहेको छ । बाघले दुई दिनका अन्तरालमा राप्तीसोनारीमा दुई महिलाको ज्यान लिनुका साथै स्थानीयवासीलाई आक्रमण प्रयास गरेको जनाइएको छ ।
राप्तीसोनारी–६ फत्तेपुर निवासी लालबहादुर थापाले बाघले विगत एक हप्तादेखि राप्तीपारीस्थित बैजापुर, बिनौना र फत्तेपुरको जंगलभित्र मान्छे र पशु चौपायामाथि निरन्तर आक्रमण गर्दै आएको जानकारी दिए । बाघको श्रृंखलाबद्ध आक्रमण नरोकिएपछि राप्तीपारीका स्थानीय अहिले निकै त्रसित छन् ।
बाघको आक्रमणबाट शनिबार राप्तीसोनारी–६ फत्तेपुरकी २९ वर्षीया चादनी थारु र बिहीबार राप्तीसोनारी ४ पर्सोनाकी ५३ वर्षीया लिला विष्टको मृत्यु भएको थियो । बाघको आक्रमणबाट बाँकेमा तीन महिनाभित्र चार जनाको ज्यान गइसकेको छ । यसअघि राप्तीसोनारी–१ गाभर र नरैनापुरमा एक÷एक जनाको मृत्यु भएको थियो ।
बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले विगत तीन दिनदेखि राप्तीपारी क्षेत्रमा दुई हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरेको छ । बाघले आतंक मच्चाइरहेको स्थान राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रअन्तर्गत पर्ने भएकाले डिभिजन वन कार्यालय बाँकेका कर्मचारी पनि परिचालित भएका छन् ।
राप्तीसोनारी–५ का वडाध्यक्ष झगरु थारुले बाघलाई नियन्त्रणमा आउन नसक्दा सर्वसाधारणमा त्रास फैलिएको बताए । अधिकांश जनता कृषि पेशामा आबद्ध रहेकाले वन, जंगलभित्र प्रवेश गर्नु उनीहरुको बाध्यता रहेको वडाध्यक्ष थारुको भनाइ छ ।
राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बाघलाई चाँडो भन्दा चाँडो नियन्त्रणमा लिएर जनतालाई त्रासबाट मुक्त गर्न आफूले सम्बन्धित निकायसँग बारम्बार आग्रह गरिरहेको बताए । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij