२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

कोरोनाको जोखिम बढेपछि बेलहिया नाकामा सतर्कता

सोमवार , पौष २६, २०७८

भैरहवा, २६ पुस ।
भारतको महाराष्ट्रबाट नेपाल भ्रमणका लागि भारतीय पर्यटक सवार एउटा बस शनिबार रुपन्देहीको बेलहिया नाकामा आइपुग्यो । सुरक्षाकर्मीहरुले बसलाई नाकामा रोक्न लगाए । बसमा सवार केही नागरिकको एन्टिजन विधिबाट कोरोना परीक्षण गरियो । बसको चालकमा संक्रमण देखिएपछि यात्रुहरु सवार बसलाई नाकाबाटै फिर्ता पठाइयो ।

त्यस्तै भारतबाट नेपाल भ्रमणका लागि मुलुक प्रवेश गर्न लागेको २१ जनाको टोलीलाई पनि सुरक्षाकर्मीले बेलहिया नाकामा रोके । आवश्यक सोधपुछ गरे । र, बेलहिया हेल्थ डेस्कमा उनीहरुमध्ये केही व्यक्तिमा कोरोना परीक्षण गरियो । ७ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई मुलुक प्रवेशको अनुमति दिइएन ।

यी प्रतिनिधिमुलुक घटनाहरु मात्र हुन् । झिन्टीगुन्टा बोकेर स्वदेश फर्किने नेपाली र बाह्य पर्यटकहरुको नाकामा एन्टिजन विधिबाट कोरोना परीक्षण हुने गर्दछ । स्वदेशीमा संक्रमण देखिए अवस्था अनुसार सुरक्षित रुपमा उनीहरुको गन्तव्यसम्म पुर्याइने र भारतबाट आउने पर्यटकहरुमा संक्रमण देखिए उनीहरुलाई नाकाबाट नै फर्काउने गरिएको रुपन्देहीको ईलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नविन पौडेलले जानकारी दिए ।

भारतमा कोरोना संक्रमण (नयाँ भेरियन्ट ओमिक्रोन समेत) तीव्र रुपमा फैलिन थालेपछि रुपन्देहीको बेलहिया नाकामा सतर्कता अपनाउन थालिएको छ । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी तथा विभिन्न संघ–संस्थाका कर्मचारी खटिएका छन् ।

भारतमा संक्रमण बढेसंगै नेपालमा पनि संक्रमितको संख्या बढ्दै गएको छ । रोजगारीका लागि भारत गएका नेपाली स्वदेश फर्किदा र पर्यटकको रुपमा भारतीय नागरिक मुलुकमा भित्रिदाँ संक्रमण बढ्नमा बल पुगेको छ । अन्यको नाकामा एन्टिजन विधिबाट कोरोना परीक्षण हुने भए पनि स्थानीय सर्वसाधारणलाई नाकाबाट आवतजावतमा कुनै रोकछेक छैन । जसबाट पनि संक्रमणको जोखिम बढेको ओमसतिया गाउँपालिकाका अच्यूत आचार्य बताउँछन् । नाकाबाट आवतजावत गर्ने अधिकांश सर्वसाधारणले स्वास्थ्य मापदण्डको पालना नगर्ने गरेको पाइएको छ । बेलहिया नाकाबाट दैनिक हजारौँ व्यक्ति आवतजावत गर्छन । रुपन्देहीको बेलहिया नाकामा सतर्कता अपनाइएको छ ।

भारतमा संक्रमण बढेसँगै बेलहिया नाकामा एन्टिजन परिक्षणको दायरा बढाइएको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नाकामा एन्टिजन परिक्षणको दायरा बढाउँदा नाकामै संक्रमित फेला पर्न थालेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए । उनका अनुसार बेलहिया नाकामा पुस २१ गते स्वदेश भित्रिनेमध्ये २ सय ८० जनाको एन्टिजन परिक्षण गर्दा ३६ जनामा पोजेटिभ देखिएको थियो । त्यस्तै २२ गते ५१८ जनामा परिक्षण गर्दा एक सय पाँच जनामा, २३ गते एक सय ८० जनामा परिक्षण गर्दा १८ जनामा र २४ गते ४०७ जनामा परिक्षण गर्दा ३९ जनामा पोजेटिभ देखिएको छ ।

यो ‘र्यान्डमलिङ टेस्ट’ गरिए अनुसारको तथ्यांक हो । नाकाबाट आवतजावत गर्ने सबैको कोरोना परीक्षण हुँदैन । केही समय यता नाकाबाट संक्रमित यात्रु प्रवेश गर्नेको संख्या बढ्दै गएको देखिएको छ । परीक्षणको क्रममा संक्रमण देखिए पहिचान हुने नभए नहुने अवस्था छ ।
सं

क्रमण बढ्न थालेपछि सरकारले पुस महिनामा देशभरबाट संकलन गरेको पोजेटिभ नमुनाको परीक्षण गर्दा ओमिक्रोन संक्रमण देखिएको छ । लुम्बिनी प्रदेशको रुपन्देहीको बेलहिया नाकाबाट २८ वटा, पाल्पा जिल्लाबाट ५ वटा र नेपालगंजको भेरी अस्पतालबाट दश वटा गरी कुल ४३ वटा पोजेटिभ नमुना संकलन गरी जिन सिक्वेन्सिङका लागि पठाइएको थियो । जसमा केही रिपोर्टमा ओमिक्रोन पुष्टि भएको छ ।

नाकाबाट संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सतर्कताका साथै एन्टिजन परीक्षणको दायरा बढाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । उनले संक्रमित नेपाली यात्रुहरुका लागि होल्डिङ सेन्टर र आइसोलेशन सेन्टर सञ्चालनको तयारी सुरु भएको बताए । साथै सुरक्षित रुपमा उनीहरुको गन्तव्यसम्म पुर्याउनका लागि यातायातको व्यवस्था समेत मिलाउने तयारी भएको छ । ‘जसका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यातायात र आइसोलेसनका लागि होटल व्यवसायीहरुसगँ समन्वय गर्ने, नाकामा कडाई गर्ने लगायतको निर्णय गरेको छ’ उनले भने । साथै उनले जिल्लामा भएका सबै स्वास्थ्य संस्था, अस्पतालहरुलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइएको बताए । ‘अहिले रुपन्देहीमा संक्रमणको अवस्था नियन्त्रित नै देखिएको छ’ प्रजिअ तिवारीले भने, ‘तर, पनि हामीले सर्तकर्ता अपनाउनुका साथै आवश्यक तयारीहरु गरिरहेका छौँ ।’ उनका अनुसार शनिबारसम्म जिल्लामा ५४ जना मात्र कोरोना संक्रमणका विरामीहरु रहेका छन् । जसमध्ये ४० जना होम आइसोलेशनमा र १० जना आईसीयूमा छन् ।

बेलहिया हेल्थ डेस्कमा कार्यरत ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सीमा नाका बेलहियामा बिहान साढे ८ बजेसम्म १ सय १० जनाको परीक्षण गर्दा १३ जनामा कोरोना रिपोर्ट पोजिटिभ देखिएको हेल्थ डेस्कका सुचना अधिकारी अनिल कुमार यादवले बताए ।