
शनिवार , पौष २४, २०७८
रुपन्देही, २४ पुस ।
होटल व्यवसायलाई पर्यटन उद्योगको रूपमा मान्यता दिएर सोहीअनुसार सेवा सुविधा दिन माग गरिएको छ । मौद्रिक नीतिमार्फत सरकारले घोषणा गरेका विभिन्न कार्यक्रमको कार्यान्वयन, सहुलियत कर्जा र पुनःतालिकीकरणको व्यवस्था पर्यटन उद्योगमार्फत गर्न आग्रह गरियो ।
शनिबार भैरहवामा आयोजित होटल व्यवसायी महासंघको नवौँ वार्षिक साधारणसभामा व्यवसायीले पर्यटन प्रवद्र्धनमार्फत मुलुकको समृद्धि सम्भव भएकाले पर्यटन व्यवसायीसँग समन्वय गरेर पर्यटनमैत्री नीति बनाउन माग गरे । उनीहरूले गत आर्थिक वर्षको बजेटमा कोरोना महामारीले धरासायी भएका होटल व्यवसायीको पुनर्उत्थानका लागि निजामती कर्मचारीलाई भ्रमण भत्ता दिएर १० दिन नेपालका विभिन्न पर्यटकीय स्थानमा पठाउने निर्णय तुरुन्त कार्यान्वयन गर्न आग्रह गरे ।
साधारणसभामा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताए । उनले पर्यटकीय क्षेत्रमा संरचना निर्माण काम धमाधम भइरहेको जनाउँदै भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध विमानस्थल दुई महिनाभित्रै सञ्चालनको तयारी भइरहेको बताए । विद्युत् विस्तारमा समस्या भएकाले मौसम सुधार हुनेबित्तिकै क्यालेब्रेसन फ्लाइट हुने उनको भनाइ छ ।
साना मझौला होटल दर्ता गर्न समस्या भइरहेको भन्ने व्यसायीको गुनासोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै मन्त्री आलेले छलफलबाट यसको छिटो निकास निकाल्ने प्रतिबद्धता जनाए । पर्यटकीय क्षेत्रमा भइरहेका विकास निर्माणका काममा निगरानी राख्न उनले स्थानीय व्यवसायीलाई आग्रह गरे ।
होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहले कोभिड–१९ को मारमा परेका होटल व्यवसाय विस्तारै वामे सर्न थालेका बेला पुनः कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमण डरले फेरि बन्द हुने हो कि भन्ने अन्योलताबाट माथि उकास्न सरकारका तर्फबाट विशेष पहलकदमी लिन आग्रह गरे । उनले पर्यटन ऐन व्यवसायीमैत्री नभएकाले तत्काल परिमार्जन गर्न पनि संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयसँग अनुरोध गरे ।
महासंघका निवर्तमान अध्यक्ष अमृत भुजेलले होटललाई पनि उत्पादनमूलक उद्योगसरह मान्यता दिएर सोहीअनुसार सेवा सुविधा दिनुपर्ने बताए । पूर्वमन्त्री हकिकुल्ला खाँले पर्यटन क्षेत्रमा नीतिगत सुधारका काम गर्न सरकारलाई सुझाव दिए ।
संविधानसभा सदस्य आदित्यनारायण कसौधनले सीमानाकाबाट पर्यटकको सहज आवागमन हुने व्यवस्था मिलाउन आग्रह गरे ।
महासंघका संस्थापक अध्यक्ष माधव नेपालले कोरोनाका कारण विस्थापित हुने अवस्था आएका व्यवसायलाई स्थापित गर्न सरकारले उचित नीति बनाउनुपर्ने बताए । “हामीलाई पर्यटन उद्योग मान्न्नुपर्छ भनेर आवाज उठायौँ तर अझै मान्यता दिइएको छैन । उद्योगीले पाउने सबै सुविधा पर्यटन व्यवसायीले पनि पाउनुपर्छ”, उनले भने ।
नेपालले मिनी नेपालको झल्को दिने गरी सातै प्रदेशमा नमूना होटल बनाउने तयारी गरिएको जनाउँदै ३०० हेक्टरका दरले जग्गा प्राप्ति हुन सके विभिन्न जाति, धर्म र भाषीको संस्कृति झल्कने खालका होटल सञ्चालन गर्ने नेपालले जानकारी गराए ।
सभामा होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपाने, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी जाने पुलको निर्माण लुम्बिनी गुरुयोजना र अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माण समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिनुपर्ने धारणा राखे ।
सभामा सिद्धार्थ नगरपालिकाका उपप्रमुख उमा काफ्ले, नेकपा (एकीकृत समाजवादी) का जिल्ला संयोजक राजु गुरुङ, नेपाली कांग्रेसका जिल्ला सदस्य हरि अर्याल लगायतले सरकारको मौद्रिक नीतिलाई सहज बनाएर व्यवसायीलाई राहत दिनुपर्ने बताए । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij