
शनिवार , पौष २४, २०७८
बुटवल, २४ पुस ।
रोटरी क्लब अफ बुटवलको १३९६ औं बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । बैठकको एजेण्डा क्लासिफिकेशन रहेको थियो । क्लबका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न बैठकमा न्यू होराइजन कलेजका प्राध्यापक अर्थशास्त्री इन्द्र भुसालको क्लासिफिकेशन रहेको थियो । त्यस अवसरमा उनले स्कुले बालबालिकालाई अभिभावकहरुले समय नदिंदा उनीहरु अभिभावकप्रति परनिर्भर बन्दै गएको बताए ।
बालबालिकालाई सुविधा भन्दा पनि अभिभावकको साथ र समय आवश्यक पर्ने उल्लेख गर्दै उनले पछिल्लो समय बाबुआमाको व्यवस्तताका कारण बालबालिकामा सामाजिक संस्कार हराउँदै गएको, नकारात्मक मनोविज्ञान विकास भएको र त्यसको असर परिवार र समाजलाई परिरहेको भुसालको भनाइ छ ।
आफ्नो शैक्षिक क्षेत्रप्रतिको अनुभव सुनाउँदै उनले हरेक आमाबुबाले आफ्ना बालबच्चाको मनोभावना बुझ्न र उनीहरूसँग समय बिताउनु आवश्यक रहेको पनि बताए ।
त्यस अवसरमा रोटरीयनहरु पुरन प्रसाद श्रेष्ठ र मणिरत्न पाण्डेले विभिन्न जिज्ञासा राखेका थिए । बैठकमा प्रेसिडेन्ट नोमिनी करुण खनालले डिष्ट्रिक कन्फ्रेन्सको तयारीबारे जानकारी गराएका थिए भने सचिव खिमनारायण पराजुलीले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए । त्यस अवसरमा रोटरीयनहरु विरेन्द्र राना, खेम पुन लगायतले पनि आफ्नो धारणा राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij