
शनिवार , पौष २४, २०७८
भैरहवा, २४ पुस ।
सिद्धार्थनगर नगरपालिकाको आयोजनामा नगरपालिकाको नियमन क्षेत्रमा सञ्चालित सहकारी संस्थाका पदाधिकारीहरुका लागि सम्पत्ति शुद्धीकरण निवारण कानून पालनासम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम भैरहवामा सम्पन्न भएको छ ।
नगर उपप्रमुख उमा काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाको आर्थिक विकास समितिका संयोजक थानेश्वर पौडेल र सदस्य रुपमाया पुनको उपस्थिति रहेको थियो । त्यस्तै राष्ट्रिय सहकारी बैक लिमिटेड भैरहवा शाखाका प्रबन्धक आलोक शिवाकोटीसहित नगरक्षेत्र भित्रका सहकारीका सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारी गरी ४८ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका सरकारी वकिल केशव न्यौपानेले सम्पत्ति शुद्धीकरणको सैद्धान्तिक तथा अवधारणागत विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
नगरपालिकाका सहकारी शाखा प्रमुख कमल कान्त खनालले सहकारीमा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानून र सहकारी संस्थाले पालना गर्नुपर्ने प्रावधानहरुबारे कार्यपत्र प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै उपप्रमुख उमा काफ्लेले सहकारीहरु नीति र विधिमा रहेर कानूनको परिपालना गर्दै सञ्चालन गर्नुपर्ने धारणा राखिन् । उनले नगरपालिकाले चालू आर्थिक वर्षमा सहकारी संस्थाका पदाधिकारी, कर्मचारी तथा सदस्यहरुको लागि विभिन्न कार्यक्रम अगाडी सारेकोले त्यस्ता कार्यक्रममा सहभागी भइ लाभ लिन आग्रह गरिन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij