
मंगलवार , आश्विन २७, २०७७
भैरहवा, २७ असोज ।
रोटर्याक्ट क्लब अफ सेन्ट्रल रुपन्देहीले पाँच जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । रोटरी साक्षरता अभियान २०२०/२१ अन्तर्गत आर्थिक स्थिति कमजोर भएका परिवारका विद्यार्थीहरुलाई क्लबले छात्रवृत्ति प्रदान गरेको हो ।
सिद्धार्थनगर नगरपालिका–७ स्थित सिद्धार्थ एकेडेमी, रुपन्देहीमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको क्लबका अध्यक्ष किसन कंडेलले बताए । अध्यक्ष कंडेलका अनुसार छात्रवृत्ति प्रदान गरिएको विद्यार्थीहरु सबै भैरहवावासी हुन् ।
सिद्धार्थ एकेडेमीका प्रबन्ध निर्देशक नारायण कंडेलले रोटर्याक्ट क्लब अफ सेन्ट्रल रुपन्देहीसंग सहकार्य गर्न पाउँदा गर्वको अनुभुुति भएको बताए । उनले आगामी दिनमा पनि क्लबबाट सहयोग र सहकार्यको अपेक्षा राखेको बताए ।
छात्रवृत्ति कार्यक्रम अन्तर्गत ५ जना विद्यार्थीको २५ प्रतिशत शुल्क रोटर्याक्ट क्लब अफ सेन्ट्रल रुपन्देहीका अध्यक्ष कंडेलले दिने र बाँकी ७५ प्रतिशत शुल्क विद्यालयले मिनाहा गर्ने विद्यालयसंग सम्झौता भएको क्लबले जनाएको छ । छात्रवृत्तिको अवधि एक वर्षको हुने क्लबका उपाध्यक्ष विनोद कुमार जयसवालले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij