
सोमवार , पौष १९, २०७८
भैरहवा, १९ पुस ।
हिमालयन लायन्स क्लब बोस्टन, युएसए (अमेरिका)ले ‘ब्याक टु स्कूल प्रोग्राम’ अन्तर्गत रुपन्देहीको एक सामूदायिक विद्यालयलाई सहयोग गरेको छ । क्लबले ओमसतिया गाउँपालिका–२ पडसरीस्थित श्री कोटहीमाई आधारभूत विद्यालयलाई १ लाख ८० हजार रुपैयाँ प्रदान गरेको हो ।
विद्यालय अध्ययनरत गर्दा बीचमै पढाई छाडेका विद्यार्थीहरुलाई लक्षित गर्दै उक्त रकम विद्यालयलाई हस्तान्तरण गरिएको हिमालयन लायन्स क्लब बोस्टनका समन्वयकर्ता तथा प्रतिनिधि विजय शर्माले बताए । उनले प्रदान गरिएको रकमबाट प्राप्त हुने ब्याज पढाई छाडेका विद्यार्थीहरुलाई विद्यालयमा फर्काउने उद्देश्य रहेको बताए । उक्त रकमको चेक सोमबार एक कार्यक्रमकाबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मात्तहम कुर्मी र प्रधानाध्यापक शुभद्रा न्यौपानेलाई हस्तान्तरण गरिएको दिपेन्द्र प्रधानले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले लायन्सले सामाजिक सेवाका कार्यहरु गर्दै आएको बताए । उनले विद्यालयमा पढ्दापढ्दै छाडेका विद्यार्थीहरुलाई विद्यालय फर्काउने अभियान अन्तर्गत रकम हस्तान्तरण गरिएको बताए ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका पाष्ट डिष्ट्रिक गभर्नर अरुण प्रताप राणाले लायन्स क्लब सामाजिक क्षेत्रमा क्रियाशिल रहेको बताए ।
ओमसतिया गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष ज्ञानेश श्रेष्ठले क्लबले विद्यालयलाई रोजेर सहयोग गरेको भन्दै खुसी व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष मात्रिका प्रसाद यादवले विपन्न परिवारका विद्यार्थी अध्ययन गर्ने विद्यालयमा आगामी दिनमा पनि सहयोग आवश्यक रहेकोमा जोड दिए । २०४५ सालमा स्थापना श्री कोटहीमाई आधारभूत विद्यालयमा हाल २२२ जना विद्यार्थी अध्ययनरत रहेको शिक्षिका विन्दु काफ्लेले बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij