शुक्रवार , पौष १६, २०७८
बुटवल, १५ पुस ।
प्रदेश सभाका कर्मचारीहरुलाई संसद बैठक सञ्चालनसम्बन्धी आवश्यक प्रक्रिया, संसद्मा कर्मचारीहरुको भूमिका र कर्मचारीले गर्नुपर्ने सेवा प्रवाहका बारेमा जानकारी गराउने उद्देश्यले बुटवलमा दुईदिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।
प्रदेशसभाको काम कारवाहीलाई उद्देश्यमुखी, जनमुखी र परिणाममुखी तुल्याउने उद्देश्यले लुम्बिनी प्रदेशसभाका कर्मचारीहरुलाई प्रदेशसभा सञ्चालन र प्रभावकारी कानून निर्माण प्रक्रियामा कर्मचारीले खेल्ने भुमिकाको बारेमा प्रशिक्षण प्रदान गरिएको हो ।
संघीय संसद सचिवालयको आयोजना तथा लुम्बिनी प्रदेशसभा सचिवालयको व्यवस्थापन र ईन्टरनेशनल रिपब्लिकन ईन्ष्टिच्यूटको सहयोगमा आयोजना गरिएको सो प्रशिक्षण कार्यक्रममा संसदीय अभ्यास, मुल्य मान्यता र परम्परा, संसद बैठकका कार्यसूची, कर्मचारीको निष्पक्षता, तटस्थता र व्यवसायिकता लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । साथै प्रदेशसभाको स्वायत्तता, विधियक तथा प्रस्तावहरु, सम्पूर्ण विवरण संकलन, अधिवेशन र बैठक आव्हान तथा बैठक स्थगित र अन्त्य लगायतका विषयमा समेत कर्मचारीहरुलाई आवश्यक जानकारी गराईएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले बताए ।
कार्यक्रममा संघीय संसद्का सचिव सुदर्शन खड्का, पुर्व सचिवद्वय सोमबहादुर थापा, मुकुन्द शर्मा र ईन्टरनेशनल रिपब्लिकन ईन्ष्टिच्यूटका कार्यक्रम प्रबन्धक प्रेमा विष्ट थापा लगायतले संसद्का गतिविधि, विषयगत समिति र संसदीय मामिला रिपोर्टिङ्गमा सञ्चारकर्मीहरुको भूमिका लगायतका बिषयमा सहजीकरण गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij