
बुधवार , पौष १४, २०७८
भैरहवा, १४ पुस ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मंसिर महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने दुईजना प्रहरी कर्मचारीलाई ‘हाई इन्टीग्रीटी इञ्चार्ज अफ द मन्त’ सम्मान गरेको छ । सम्मानित हुनेमा प्रहरी चौकी खैरेनीमा कार्यरत प्रहरी निरीक्षक गंगा बहादुर सारु र प्रहरी चौकी दुबेथुमुवामा कार्यरत प्रहरी सहायक निरीक्षक केशव श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए ।
जिल्ला प्रहरी कार्यालयले जिल्लाभित्र कार्यरत प्रहरीहरुमध्ये उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने कार्ययोजना बमोजिम मंसिरमा समग्र पक्षको आधारमा दुईजनालाई सम्मान गरिएको डीएसपी पौडेलले जानकारी दिए । प्रहरी निरीक्षक सारु र प्रहरी सहायक निरीक्षक श्रेष्ठले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढंगबाट सम्पादन गरेको उनले बताए ।
‘जिल्ला प्रहरी कार्यालयबाट सञ्चालन गरिएको फरार अपराधी पक्राउ, नागरिक सूचना कार्ड, अवैध सामान बरामद, लागुऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा प्रतिकार्यको निश्चित आधारमा उच्च इन्टीग्रीटी स्कारे प्राप्त गरी कार्यालयको लक्ष्य प्राप्तीमा महत्वपूर्ण योगदान गरी आफ्नो मातहत प्रहरी कर्मचारीलाई समेत गैह्रव्यवसायिक गतिविधि नियन्त्रण गर्दै उच्च नैतिक आचरणमा रही उल्लेखनीय भूमिका निर्वाह गरेकाले सम्पादित कार्यको उच्च मुल्यांकन गर्दै प्रहरी कर्मचारीहरुलाई प्रोत्साहित गर्न सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको छ, ’उनले भने ।
दुईजना प्रहरी कर्मचारीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार के.सी.ले ‘हाई इन्टीग्रीटी अवार्ड’ प्रदान गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij