२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

लागुऔषधका चर्चित कारोबारी मन्टुसहित तीनजना पक्राउ

सोमवार , पौष १२, २०७८

परासी, १२ पुस । 
जिल्ला प्रहरी कार्यालय नवलपरासीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विशेष सुराकीको आधारमा लागुऔषधका कारोबारीसहित तीन जनालाई पाल्हीनन्दन गाउँपालिका–३ स्थित कुश्मा चोकबाट पुस ९ गते शुक्रबार पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा लागुऔषधका कारोबारी पाल्हीनन्दन गाउँपालिका ३ कुश्मा बस्ने विवेक पाण्डे (मन्टु), अर्काे कारोबारी सोही स्थान बस्ने अब्दुल रहमान (चिन्कुल) र सुनवल १ सोमनाथ बस्ने कृष्ण बहादुर पाण्डे रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट स्पास्मो १७४ क्याप्सुल, नाईट्रोभेट १९ ट्याब्लेट र कोडिन ३ बोतल लागुऔषध बरामद गरेको छ ।

विगतका बर्षदेखि विवेक पाण्डे (मन्टु) र अब्दुल रहमान (चिन्कुल) भारतीय बजारबाट लुकाईछिपाई लागु औषध ओसारी घरबाट विक्री वितरण गर्दै आएका थिए । विवेक पाण्डे स्थानीय नाम मन्टु पाण्डे र अब्दुल रहमान स्थानीय नाम चिन्कुलबाट चर्चित छन् । लागुऔषधबाट निकै लाभ गरिरहेका मन्टु र चिन्कुल जिल्लामै लागुऔषधको मशहुर कारोबारी भनेर चिनिने गरिन्छ । उनीहरुसंग लागुऔषध किन्न जिल्लाको बर्दघाट, सुनवल, परासी, जमुवाड, स्वाठी, बनकट्टी, खैरेनी लगायतका ठाउँहरुबाट लागुऔषध सेवनकर्ताहरुको कुश्मा चोकमा भिड नै लाग्ने गरेको स्थानीय बताउँछन् ।

मन्टु र चिन्कुलसहित केही कारोबारीहरु सोझासाझा बालबालिका तथा व्यक्तिहरुलाई आर्थिक प्रलोभन दिई भारतीय बजार ठुठीबारी, लक्ष्मीपुर र बरगादवाँ बजारबाट विभिन्न प्रकारका लागु औषधहरु खरिद गरि ओसार्न लगाउथ्ये र घरमा लुकाएर राख्थे । सेवनकर्ताहरु आएपछि वरपरका बगैचा र खेतखरिहानमा लुकिछिपी महंगोमा लागुऔषध बेच्ने धन्धा गर्दै आएका थिए ।

उनीहरुको चर्तिकलाले स्थानीय युवाहरु कुलतमा फसेको तथा समाजमा नकारात्मक असर समेत परिरहेको स्थानीयले गुनासो गर्दै आएका थिए । लागुऔषध कारोबारी मन्टु र चिन्कुलका विषयमा स्थानीयले प्रहरी, नेता तथा पत्रकार समेतलाई गुनासो गर्दै आएका थिए । उनीहरुलाई स्थानीयले सुधारका लागि जति सम्झाए पनि उनीहरु आफनै धन्धामा व्यस्त रहने गर्दथे ।

प्रहरीले मन्टु र चिन्कुललाई रंगेहात पक्राउ गर्न विगत केही महिनादेखि टार्गेटमा राखी योजना बुन्दै आएको थियो कि त्यो दिन आयो र प्रहरीलाई सफलता मिल्यो । प्रहरीको टोलीले कुश्मा चोकबाट ती कारोबारीहरुलाई लागुऔषधसहित पक्राउ गरेपछि स्थानीय निकै खुशी भएको पाईन्छ । पक्राउ पर्ने तीनै जनाविरुद्ध लागुऔषध मुद्दामा मुद्दा दर्ता गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । मन्टु ७/८ वर्ष अगाडी भारतमा मोटरसाईकल चोरीमा समेत पक्राउ परि जेल सजाय भुक्तान गरेका व्यक्ति हुन् । 

त्यसै गरी प्रहरी एक्सनमा आएपछि विभिन्न मुद्दामा फरार ११ जना अभियुक्तलाई पनि पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा बुझाएको छ ।