
बिहिवार , पौष ८, २०७८
बुटवल, ८ पुस ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ११ औं राष्ट्रिय महाधिवेशन बिहीबारदेखि बुटवलमा सुरू भएको छ । महाधिवेशनको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले उद्घाटन गरे । सो अवसवरमा बोल्दै अध्यक्ष श्रेष्ठले मजदुरहरूलाई राजनीतिमा आउन आग्रह गरे ।
मजदुरहरु राजनीतिमा आएपछि मात्र उनीहरुको भविष्य सुरक्षित हुने मजदुर नेता श्रेष्ठको भनाइ छ । ‘मजदुरले राजनीति नगरे कसले गर्छ ?’ अध्यक्ष श्रेष्ठले भने, ‘मजदुरले पनि देश चलाउन सक्छन । मजदुरी गरी मन्त्री बनेका व्यक्तिले मात्र मजदुरको समस्या बुझ्ने हुन्छ । त्यसैले मजदुरहरु राजनीतिमा आउनुको विकल्प छैन् ।’
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै यातायात मजदुर सहभागी हुने श्रेष्ठले आग्रह गरे । टेड्र युनियन महासंघले प्रतिनिधित्वको अधिकार कार्यान्वनको चरणमा पुर्याएको नेता श्रेष्ठले बताए । अधिवेशनले आन्दोलनको समिक्षा गर्दै चुस्त काम गर्ने नेतृत्व चयन गर्न आग्रह गरे ।
कार्यक्रममा नेकपा एमाले पोलिटव्यूरो सदस्य दधिराम न्यौपानेले एमालेले मात्र मजदुरहरुका समस्या समाधान गर्ने बताए । उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई कार्यान्वनमा ल्याउन नदिन अनेक प्रयासहरु भइरहेको बताए । उनले मजदुरको न्यूनतम ज्याला अनिवार्य कार्यान्वयन हुनुपर्ने बताए ।
जिफन्टका उपाध्यक्ष विदुर कार्कीले यातायात क्षेत्रमा सेटिङ हुँदा श्रमीक र मजदुरहरु अनाहकमा जेलमा जानुपर्ने अवस्था सिर्जना भएको बताए । उनले आफूहरुको प्रयासले नैं यातायातलाई कम्पनीमा जाने माग गरिएको बताए ।
कार्यक्रममा जिफन्ट उपाध्यक्ष कमल गौतम, यातायात मजदुर संघका उपाध्यक्ष दीर्घबहादुर केसी, अखिल नेपाल मजदुर संघका अध्यक्ष राजेन्द्र आचार्य, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, आइटेप नेपालका संयोजक अजय राई, संघका पूर्वअध्यक्षहरु राजिव घिमिरे, उत्तम केसी लगायतले बोलेका थिए ।
संगठनका अध्यक्ष भीम ज्वाला राईको अध्यक्षता, उपाध्यक्ष ठाकुर श्रेष्ठको स्वागत तथा महासचिव नवराज घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तीन दिनसम्म चल्ने अधिवेशनमा देशभरबाट ३५० भन्दा बढी मजदुर नेताहरु आएका छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij