
बिहिवार , पौष ८, २०७८
भैरहवा, ८ माघ । आफ्नो स्थापना दिवसको अवसर पारेर हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–७, रुपन्देहीले भैरहवास्थित भीम अस्पतालका बिरामीलाई पौष्टिक आहार तथा फलफूल वितरण गरेको छ ।
संस्थाले बिहीबार एक कार्यक्रमकाबीच अस्पतालमा पुगेर पौष्टिक आहार तथा फलफूल वितरण गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले स्थापना दिवसको अवसर पारेर संस्थाले अस्पताललाई रोजेको भन्दै धन्यवाद दिए ।
उनले अस्पतालले क्रमशः सेवा विस्तार गर्दै आत्मनिर्भर बन्दै गएको बताए । अध्यक्ष भण्डारीले कोभिड–१९ महामारीमा यस क्षेत्रका विभिन्न संघ–संस्थाले अस्पताललाई सहयोग गरेर अतुलनीय योगदान पुर्याएको बताए ।
हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बसन्त कुमार लाल कर्णले २०६४ सालमा २६ जनाले ५÷५ हजार उठाएर स्थापना भएको संस्था यहाँसम्म पुगेको बताए । उनले संस्थामा हाल ८७२ जना शेयर सदस्य रहेको जानकारी दिए । अध्यक्ष कर्णले भीम अस्पताललाई आगामी दिनमा पनि केही न केही सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।
अस्पतालका आकस्मिक कक्ष (इमरजेन्सी) इञ्चार्ज सविता शर्माले स्थापना दिवसको अवसर पारेर बिरामीलाई पौष्टिक आहार तथा फलफूल वितरण गर्नु सराहनीय रहेको बताइन् । सहकारीका सरसफाई समिति संयोजक मात्रिका प्रसाद यादवले स्थापना दिवसको अवसरमा संस्थाले गरेको कार्यक्रमले बिरामीलाई केही भए पनि सहयोग पुग्ने बताए ।
सहकारीका उपाध्यक्ष बेचन प्रसाद गुप्ताको स्वागत तथा सचिव दीपक घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । अस्पतालमा उपचाररत ५० जना बढी बिरामीलाई पौष्टिक आहार तथा फलफूल वितरण गरिएको सहकारीका व्यवस्थापक धर्मेन्द्र कोहारले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij