२०८२, माघ ३ गते

Jan 17 2026 | २०८२, माघ ३ गते

बिद्युत बक्यौता नतिर्नेको लाईन काट्न शुरु, क्रिकेट रङ्गशाला र माउन्ट एभरेष्ट ब्रुअरीको लाइन काटियो

बिहिवार , पौष ८, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • चीतवन। आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत महशुल नतिरेपछि लाइन काटिएको छ। नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि बुधबार लाइन काटेको हो। 

    प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार रङ्गशालाको विद्युत महशुल आठ लाख ८७ हजार रुपैया पुगेको छ। यो महशुल चार महिनादेखि भुक्तानी नभएपछि लाइन काटिएको उनले बताए। धुर्मुस सुन्तली फाउण्डेसनले निर्माणको नेतृत्व गरेको रङ्गशालामा आर्थिक अभाव भएपछि फाउण्डेसन निर्माणबाट पछि हटेको छ। फाउण्डेसनले १७ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको भन्दै स्वामित्व लिइदिन भरतपुर महानगरपालिकालाई अनुरोधसमेत गरेको छ। 

    प्राधिकरणले मदिरा उत्पादक कम्पनी माउन्ट एभरेष्ट ब्रुअरीको पनि लाईन काटेको छ। माउन्ट एभरेष्ट ब्रुअरले ३७ लाख ४१ हजार रुपैया बक्यौता तिर्न बाँकी रहेपछि सो उद्योगको पनि लाइन काटेको प्राधिकरणले जनाएको छ। यससँगै साना १२ फर्म तथा संस्थाको लाइन काटिएको पौडेलले जानकारी दिए। 

    पचास हजारभन्दा बढी ग्राहक रहेको भरतपुर वितरण केन्द्रमा ६० दिन नाघेका बक्यौतासहित एक करोड ४० लाख हाराहारी महशुल उठ्न बाँकी रहेको कार्यालयले जनाएको छ। विगत केही वर्ष अघियस कार्यालयमा बक्यौता मात्र सात करोडसम्म पुगेको पौडेलले जानकारी दिए। पछिल्ला वर्षहरुमा महशुल असुलीमा कडाइ गरेपछि बक्यौता घटेको हो।