
शनिवार , आश्विन २४, २०७७
बुटवल, २४ असोज ।
साईकल सिटी बुटवलले नबिन औद्योगिक मा.वि.लाई आर्थिक सहयोग गरेको छ । विद्यालयमा साईकल सेड निमार्णको लागि शनिबार प्रथम साधारणसभा तथा अधिवेशनमा सिटीका अध्यक्ष धिरन तुलाधरले विद्यालयका प्राचार्य प्रेम बहादुर बस्नेतलाई नगद ३३ हजार ३ सय ३३ रुपैया हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै बुटवल खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले खेलाडी उत्पादनका लागि विद्यालयस्तरमै लाग्न जरुरी रहे पनि यसतर्फ अझै पनि सचेतना जगाउन जरुरी रहेको बताए । नगरमा रहेका खेलकुद सम्बद्ध संस्थाहरुलाई खेलकुद गतिविधि र विकास गर्न थोरै भए पनि आर्थिक सहयोग गर्ने प्रयास सुरुवात गरेको उनले बताए । संरचना भए मात्र खेल विकास हुने भएकाले अहिले तारजाली, खेलमैदान फिलिङ गर्ने जस्ता कामलाई जोड दिएर अघि बढेको उनले बताए । स्पोर्ट्स टुरिजम अबको लक्ष्य रहेको समेत उनले बताए ।
कार्यक्रममा रुपन्देही जिल्ला साईकल संघका अध्यक्ष पुकार थापाले साईक्लिङ खेलकुदको एक भाग भएको भन्दै अन्तर्राष्ट्रिय क्षेत्रमा यसको महत्व भए पनि नेपालमा भने भर्खर क्रेज बढिरहेको बताए । साइकलमैत्री पुर्वाधार बनाउन संस्थागत रुपमा आफुहरुले रुपन्देही ५ वटा स्थानीय सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको उनले बताए ।
साईकल सिटि भैरहवाका अध्यक्ष सुर्य कुमार सारु मगरले नगर क्षेत्रमा साईकल लेनको अवधारणा बारे मुद्दा उठाउन जरुरी रहेको बताए । रुपन्देहीलाई साईकलको शहर बनाउने योजना रहेको बताए ।
कार्यक्रममा नवीन औद्योगिक मा.वि.का प्राचार्य प्रेम बस्नेतले प्रदेशकै नमुना विद्यालय बनाउन पढाईसंगै अतिरिक्त क्रियाकलापलाई पनि जोड दिएको बताए । कोषाध्यक्ष विमल बस्नेतले आर्थिक तथा सचिव विनोद बहादुर कार्कीले प्रगति विवरण पेश गरेका थिए । कार्यक्रममा साईकल मर्मत क्षेत्रमा लागेका दुई जना प्राविधिकहरु अमित गुप्ता र पुरन रानालाई सम्मानपत्रबाट सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij