बुधवार , पौष ७, २०७८
तिलोत्तमा, ७ पुस ।
अभिभावकबिहीन तथा असहाय बालबालिकाको लागि रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा सञ्चाति रामचन्द्र मैनादेवी अनाथ आश्रमले बुधबार २५ औं साधारणसभा सम्पन्न गरेको छ । सडक बालवालिकादेखि अभिभावक बिहीन बालबालिकाका लागि २०५३ सालमा आश्रम स्थापना गरिएको हो । साधारणसभामा बोल्ने जनप्रतिनिधि, समाजसेवी, विभिन्न आमा समूहका अध्यक्ष तथा प्रतिनिधिहरुले आश्रम सञ्चालनका लागि सहयोग जुटाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
अभिभावक बिहीन बालबालिकाको नैसर्गिक अधिकारका लागि सबै प्रकारका सहयोग जुटाउने प्रतिबद्धता जनाइएको छ । कार्यक्रममा बोल्दै तिलोत्तमा वडा नम्बर ६ का वडाध्यक्ष सुकदेव न्यौपानेले अनाथ बालवालिकाहरुको संरक्षणका लागि आश्रम सञ्चालनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
तिलोत्तमा नगरपालिका बालमैत्री नगरपालिका घोषणा भइसकेकाले अब बालबालिकाका हरेक अधिकार र सुविधाप्रति सहयोग पुग्ने उनले बताए । बालबालिकाहरुको पालनपोषणदेखि शिक्षा, स्वास्थ्य र अन्य अधिकारको विषयमा नगरपालिकाबाट सहयोग हुने उनले बताए । आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीले आश्रम सबैको सम्पति भएको उल्लेख गर्दै सबैको आर्थिक र भौतिक सहयोगबाट आश्रमले गति लिएको बताइन् ।
अध्यक्ष भण्डारीले आश्रमको अहिले ५० लाख अक्षयकोष रहेको जानकारी गराउँदै कोरोना महामारीका कारण एक करोड पुराउने लक्ष्य पुरा हुन नसकेको र आगामी दिनमा पुर्याउने प्रतिवद्धता जनाइन् । आश्रम सञ्चालन र अक्ष्यकोष पारदर्शी रुपले सञ्चालन भएको बताउँदै आवश्यकता अनुसार निगरानी गर्न पनि उनले आग्रह गरिन् ।
कार्यक्रममा तिलोत्तमा मिडिया क्लवका अध्यक्ष लक्ष्मण पौडेल, समाजसेवी रमेश पाण्डे, बर पिपल महिला समूहकी अध्यक्ष कमला आचार्य पोखरेल, फोरस्टार सहकारीका अध्यक्ष रामलाल तिवारी, पत्रकार कृष्ण ढकाल, प्रकृति भट्टराई, सीता वास्ताकोटी लगायतले बोल्दै अनाथ बालवालिकाका लागि आश्रम सञ्चालनमा सबैको सहयोग आवश्यक पर्नेमा जोड दिएका थिए । आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । आश्रममा हाल १० जना बालवालिकाले आश्रय लिइरहेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij