
शुक्रवार , आश्विन २३, २०७७
बुटवल, २३ असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले यो महिनाभित्र प्रदेश राजधानी राप्ती उपत्यकाको जग्गाको लगत पठाउन निर्देशन दिएका छन् । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाका पालिका प्रमुख, दाङ र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तथा मालपोत कार्यालयका अधिकारीहरुसंग शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छलफलमा जग्गाको अवस्था थाहा भएपछि अरु काम अघि बढाउन सजिलो हुने बताए ।
उनले सरकारी जग्गाको अवस्था, वन क्षेत्रको जग्गा भएको तर वन नभएको जग्गाको अवस्था र निजी जग्गाको अवस्थाका बारेमा जानकारी पठाउन निर्देशन दिए ।
सरकारी जग्गा अतिक्रमण गरी वस्ती बस्न सक्ने भएकोले चनाखो भइ नियन्त्रण गर्न उनले जनप्रतिनिधि र प्रशासनका अधिकारीहरुलाई आग्रह गरे । ‘अतिक्रमण समुदायको सहयोगमा २४ घण्टाभित्र हटाउनुपर्छ-उनले भने ।’
मुख्यमन्त्री पोखरेलले पालिका प्रमुखहरुलाई पालिकाले बजार क्षेत्र, कृषि क्षेत्र जस्ता विषय खुलाएर सुझाव पठाउन पनि आग्रह गरे । त्यसो गर्दा गुरुयोजना बनाउन सहयोग पुग्ने उनको भनाई छ । मुख्यमन्त्रीले राप्ती उपत्यका नयाँ नाम दिइएको र उपत्यकाभित्र गढवा, राप्ती र शितगंगा पालिकाको मैदानी भाग पर्ने भएकाले भ्रममा नपर्न आग्रह गरे ।
छलफलमा प्रदेश सरकारका मन्त्रीहरु, राप्ती गाउँपालिकाका अध्यक्ष नुमनारायण सुवेदी, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव र शितगंगा नगरपालिकाका प्रमुख सूर्य प्रसाद अधिकारी, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, मालपोत कार्यालयका अधिकारीहरु र प्रदेश सरकारका प्रमुख सचिवसहित मन्त्रालयका अधिकारीहरु सहभागि रहेको मुख्यमन्त्रीको प्रेस सल्लाहकार शेरबहादुर के.सी.ले बताए ।
दाङका प्रमुख जिल्ला अधिकारी रिजालले राप्ती उपत्यका भित्रको जग्गाको अवस्थाबारे सम्बन्धित निकायलाई यथार्थ अवस्था जानकारी दिन भनिसकेको र एक हप्ताभित्र आउने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij