२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

सडक निर्माण हुने भएपछि धर्ना स्थगित

आइतवार , पौष ४, २०७८

बुटवल, ४ पुस । 
बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक मर्मत तत्काल सुरु गर्न माग गर्दै बुटवलबासीले आह्वान गरेको पुस ४ गतेको धर्ना कार्यक्रम स्थगित गरिएको छ । चुरे तिनाउ संरक्षण समिति बुटवलका नाममा संगठित स्थानीयले सडक मर्मतको मुख्य मागसहित पहिरो नियन्त्रणको समुचित व्यवस्थापन र बस्ती सुरक्षित बनाउन दबाब दिन भन्दै पुस ४ गते डिभिजन सडक कार्यालय बुटवलमा धर्नाको कार्यक्रम सार्वजनिक गरेका थिए । तर सडकको भेरिएसन अर्डर स्वीकृत भई ठेकेदारले काम सुरु गर्छु भनेकाले धर्नाको कार्यक्रम स्थगित गरिएको समितिका अध्यक्ष कमल गौतमले जानकारी दिए ।

समितिले झुम्सा खानेपानी योजना तुरुन्त सम्पन्न गर्नुपर्ने, ज्योतिनगर, लक्ष्मीनगर पाखापानी वडा नम्वर १, पाखापानी वाड २ र वडा नम्वर ६ को ताइवान टोलमाथिको पहिरोको नियन्त्रण गरी बस्तीलाई तत्काल सुरक्षित गनुपर्ने माग राखी दुईमहिने संर्घषका कार्यक्रम सार्वजनिक गरेको थियो । अन्य कार्यक्रमलाई यथावत राख्दै बन्दको कार्यक्रम स्थगित गरिएको गौतमले बताए ।

समितिले केही दिनअघि नागरिक समाज तथा सरोकारवालासंगको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्रीको कार्यालय र बुटवल उपमहानगरपालिकाको कार्यलयमा समस्या समाधानका लागि ध्यानाकर्षण गराएको थियो ।

समितिले पुस ६ गते खानेपानी संस्थानमा धर्ना दिई ८ गते प्रदेश वन मन्त्रालयमा धर्ना दिने कार्यक्रम बनाएको छ । समितिले पुस १५ गते नगरपालिकामा धर्ना, १८ गते मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिने भने पुस २३ गते एक घण्टा चक्काजाम गर्ने जनाएको छ । त्यस्तै समितिले पुस २५ गते नारा जुलुस गर्ने पनि बताएको छ भने पुस २६ गते बुटवल बन्दको कार्यक्रम घोषणा गरेको छ ।