२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

जनउत्थानले मनायो १६ औं वार्षिक उत्सव

आइतवार , पौष ४, २०७८

भैरहवा, ४ पुस ।
जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रुपन्देहीले आफ्नो १६ औं वार्षिक उत्सव–२०७८ मनाएको छ । मुख्य कार्यालय रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा रहेको संस्थाले मुख्य कार्यालयसहित १० वटै सेवा केन्द्रबाट विभिन्न कार्यक्रमहरु गर्दै वार्षिक उत्सव मनाएको हो ।

जनउत्थान साकोसको १६ औं वार्षिक उत्सवको अवसरमा ४० जना प्लस टु र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई ५/५ हजार, गरिब वा जेहन्दार छात्रवृत्ति वितरण, १६ जना बाख्रापालकहरुलाई १०/१० हजार २ वर्षका लागि निर्ब्याज ऋण सहयोग कार्यक्रम र ३४१ जना ७० वर्ष नाघेका जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । 

कार्यक्रम कोटिहवा, पहँच, मणिग्राम, सुदृढ, पटाकसार लुम्बिनी, रुद्रपुर, बुटवल गरी संस्थाको विभिन्न ठाउँमा रहेको ८ वटा कार्यालयहरुबाट छुट्टाछुट्टै रुपमा मनाउनुको साथै बुटवल सेवा केन्द्र उद्घाटन गरिएको संस्थाका अध्यक्ष ज्ञानु पौड्यालले बताइन् ।

ओमसतिया गाउँपालिका–१ ठुटीपीपलमा अवस्थित सहकारीको पटाकसार सेवा केन्द्रले पनि जेष्ठ शेयर सदस्य सम्मान, गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति वितरण, बाख्रा पालनका लागि र्निब्याज ऋण वितरण लगायतका विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै वार्षिकोत्सव मनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओमसतिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बेल बहादुर बरालले सहकारीले प्रदान गर्ने सेवा प्रशंसायोग्य रहेको बताए । उनले सानो पुँजीबाट उद्यम गर्न चाहनेहरुका लागि यस सहकारीले महत्वपूर्ण भुमिका खेलेको बताउँदै थप उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन आग्रह गरे ।

विशिष्ट अतिथि तथा जनउत्थान साकोसका सल्लाहकार यम बहादुर थापाले साकोसका कर्मचारी र उनीहरुको मिहिनेतको प्रशंसा गर्दै जनउत्थान उत्कृष्ट सहकारी रहेको दावी गरे । उनले साकोसलाई अब्बल बनाउन कर्मचारीहरुको अथक प्रयास र शेयर सदस्यहरुको ठुलो साथ र सहयोग रहेको बताए । सुनिता चौधरीको संचालन तथा परामर्श कार्यदल संयोजक भुम बहादुर रेश्मीको स्वागत मन्तव्य रहेको कार्यक्रममा पटाकसार सेवा केन्द्र व्यवस्थापन उपसमिति सदस्य झविलाल थापा, दिपक सिंह थापा लगायतले बोलेका थिए ।

त्यस्तै सहकारीको केन्द्रिय कार्यालयमा वार्षिक उत्सव समारोह पनि भव्य रुपमा सम्पन्न भएको छ । कोटिहवास्थित मगर भवनमा परामर्श कार्यदल संयोजक टिकाराम पाण्डे तथा सिस्टर क्लब संयोजक केश कुमारी लुईटेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

केन्द्रीय व्यवस्थापन उपसमिति संयोजक निल प्रसाद पुनको अध्यक्षता तथा तिलोत्तमा नगरपालिका वडा नम्बर १५ अध्यक्ष खेम राज गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गुरुङसंगै, तिलोत्तमा वडा नम्बर १३ का अध्यक्ष गणेश न्यौपाने, वडा नम्बर १६ का अध्यक्ष झविलाल भुसाल, जनउत्थान साकोसका संस्थापक अध्यक्ष तथा सल्लाहकार मेखराज पुन, सल्लाहकार ईश्वरचन्द्र पोख्रेल, सल्लाहकार खिम कुमारी राना लगायतले बोल्दै सहकारीले उत्पादनमुलक लगानीलाई प्राथमिकता दिनुपर्ने बताएका थिए ।  

सो अवसरमा सहकारीबाट लगानी कर्जा लिएर बाख्रापालन गर्ने बाख्रापालकलाई २ वर्षको लागि १०/१० हजार र्निब्याज ऋण दिइएको थियो । त्यस्तै ५ जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति ५/५ हजार, कापी तथा प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै ११५ जना जेष्ठ नागरिकलाई सहकारीद्वारा सम्मान समेत गरिएको थियो ।

त्यस्तै जनउत्थान पहुँच सेवा केन्द्र भैरहवामा १६ औं वार्षिकउत्सव मनाइएको छ । कार्यक्रममा येष्ठ नागरिक सम्मान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति तथा बाख्रापालनमा सहयोग गरिएको सहकारीका अध्यक्ष ज्ञानु पौड्यालले बताइन् ।

संस्थाले बुटवलमा आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । १६ औं वार्षिक उत्सवको अवसरमा संस्थाले उक्त सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । शनिबार एक कार्यक्रमकाबीच जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भीम तुलाचनले सेवा केन्द्रको उद्घाटन गरेका हुन् ।

सहकारीका सचिव सरु रानाले छिट्टै नै बुटवल तामनगर र सैनामैनाको मुर्गियामा पनि सेवा केन्द्र सञ्चालनको तयारी रहेको बताइन् ।

सहकारीको कुल पुँजी २७४ करोड, बचत संकलन २१५ करोड, ऋण लगानी २३६ करोड, संस्थागत कोष १८ करोड र शेयर सदस्य संख्या ३० हजार ९ सय २१ रहेको संस्थाका व्यवस्थापक रन बहादुर थापाले बताए ।