२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

‘वैज्ञानिक शिक्षा सुनिश्चित हुनुपर्छ’

शनिवार , पौष ३, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • रुपन्देही, ३ पुस ।
    गुणस्तरीय स्वास्थ्य र शिक्षा सबै नागरिकको अधिकार भएकाले सरकारले यसको सुनिश्चितता गर्नुपर्नेमा जोड दिइएको छ । बुटवलमा आज आयोजित मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको २२ औँ साधारणसभामा बोल्ने अधिकांश वक्ताले मुलुकलाई समुन्नत बनाउन स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्नेमा जोड दिएका हुन् ।

    सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले शिक्षालाई सीपसँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै बजार सुहाउँदो गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता भएको बताए । “प्राविधिक शिक्षा सर्वसुलभ बनाउनुपर्छ, यो शिक्षा सर्वसुलभ नहुँदा विकासको गति रोकिएको छ । यसमा राजनीतिक दल गम्भीर हुनुपर्छ”, उनले भने । गुणस्तरीय स्वास्थ्यको विषयलाई राजनीति दलले एजेन्डा बनाउन नसक्नु विडम्बना भएको उनको भनाइ छ । 

    समाजका उपाध्यक्ष कृष्ण रावलले मानव अधिकार कानूनमा मात्रै सीमित भएकाले यसको कार्यान्वयनका लागि सबै क्षेत्रबाट दबाब आवश्यक भएको बताए । मानव आधिकार आयोगका लुम्बिनी प्रदेश प्रमुख सन्तोष आचार्यले स्वास्थ्य र शिक्षाको गुणस्तरीयता सुनिश्चित गर्नु सरकारको दायित्व भएको बताए । “स्वास्थ्य र शिक्षामा राज्य कल्याणकारी बन्ने हो भने मानिस लालायित भएर अनुचित कार्य गर्नुपर्दैन”, उनले भने । 

    नेकपा एकीकृत समाजवादीका जिल्ला इञ्चार्ज बालकृष्ण चापागाईं, नेपाली कांग्रेस प्रदेश सचिव प्रजापाल गिरी, नेकपा (एमाले) का जिल्ला उपाध्यक्ष पुरुषोत्तम घिमिरे, नेकपा (माओवादी केन्द्र)का प्रदेश सदस्य पुष्पराज ढकाल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसाल लगायतले शिक्षा र स्वास्थ्य नागरिकको जीवनसँग जोडिएको विषय भएकाले यसलाई सहज र सर्वसुलभ बनाउनुपर्नेमा जोड दिए । 

    शान्ति समाजका रुपन्देही सभापति डिपी खनालले सरकारलाई जिम्मेवार जवाफदेही बनाउन शान्ति समाजले विभिन्न अभियान सञ्चालन गर्दै आएको जनाउँदै अब स्वास्थ्य र शिक्षा सुनिश्चितताका लागि बहसको विषय बनाएको बताउनुभयो । रासस