२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

यौनिक तथा लैंगिक अल्पंख्यकका मुद्दामा संवेदनशील बन्न आग्रह

शुक्रवार , पौष २, २०७८

रुपन्देही, २ पुस ।
यौनिक तथा लैंगिकक अल्पसंख्यकका मुद्दालाई सञ्चार माध्यममा प्राथमिकता दिन आग्रह गरिएको छ । नील हिरा समाजले आज बुटवलमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसँग सम्बन्धित विषयमा समाचार दिँदा शब्दावलीमा ध्यान दिनुपर्नेमा जोड दिए ।

सो अवसरमा सञ्चारिका समूहका पूर्वअध्यक्ष बबिता बस्नेतले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सवालमा सञ्चार संस्था संवेदनशील बन्नुपर्ने बताइन् । सबै सञ्चार संस्थालाई एकैठाउँमा राखेर मूल्यांकन गर्न नहुने उल्लेख गर्दै उनले मूलधारका सञ्चार संस्था भन्दा दर्ता नभएका र युट्युबमा बढी नकारात्मक सामग्री आउने गरेको बताए । “मिडिया सामग्रीको विश्लेषण गर्दा धेरैजसो सामग्री बिकाउरुपमा आएका छन् । राम्रा कामका समाचार सकारात्मक रुपमा आए पनि वैकल्पिक मिडियामा बढी सामग्री पाइन्छ”, उनले भनिन् ।

नील हिरा समाजका कार्यक्रम संयोजक भूमिका श्रेष्ठले पहिचान र अधिकारका लागि समाजले आवाज उठाउँदै आएको बताउँदै यसमा साथ दिन सबैलाई आग्रह गरिन् । “कहिलेकाहीँ मिडियामा आउने सामग्रीले यौैनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा नकारात्मक प्रभाव पार्छ, त्यसैले मिडिया बढी संवेदनशील बन्नुपर्छ”, उनले भनिन् । संयोजक श्रेष्ठले प्रदेशस्तरमा पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि समावेशी ऐन, नीति र बजेटको व्यवस्था गर्न माग गरिन् ।

बियोन्ड बेइजिङ कमिटी नेपालका कोषाध्यक्ष जगजीत कौरले यौैनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सशक्तिकरणका लागि समाजका सबै पक्ष संवेदनशील हुनुपर्ने आवश्यकतामाथि जोड दिइन् ।

पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले पत्रकारले पत्रकार आचारसंहितालाई टेकेर काम गर्ने भएकाले मूलधारका मिडियामा खासै समस्या नहुने गरेको बताए ।  

नील हिरा समाजका कार्यकारी निर्देशक मनिषा ढकालले यौैनिक तथा लैंगिक अल्पसंख्यक समुदायको राज्यका हरेक तहमा अर्थपूर्ण सहभागिता र समावेशीकरण जरुरी रहेकामा जोड दिए । उनले यो समुदायमाथि हुने हिंसा र विभेद कम गर्न सरकारले विशेष संयन्त्र बनाउनुपर्ने बताए ।

साहसी कदम नेपालका प्रदेश संयोजक आनिक रानाले राजनीतिक दलले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मुद्दालाई घोषणापत्रमा समावेश गरी नीति निर्माण तहमा प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिन् ।

युवाका क्षेत्रमा कार्यरत संस्था युवाका सदस्य आस्था सुवेदीले महिला तथा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका नागरिकलाई यौनिकतासँग मात्रै जोडेर नहेर्न आग्रह गर्दै युवालाई उत्प्रेरणा दिने खालका विषयवस्तुलाई मिडियामा प्राथमिकता दिन आग्रह गरिन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका रुविना तामाङ र टीकाराम न्यौपानेले शारीरिक अवस्था एउटा र अर्कै भावना बोकेर हिँड्न सहज नहुने भएकाले यो समुदायको भावना बुझेर कलम चलाउन पत्रकारलाई अनुरोध गरे । रासस