
शुक्रवार , पौष २, २०७८
गुल्मी, २ पुस ।
गुल्मी जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु भएको छ । अक्सिजन प्लान्ट बनाउनको लागि नेपाल पत्रकार महासंघ, जिल्ला शाखाले अभियान सुरु गरेको थियो । रेसुङ्गा नगरपालिका–८ का ८४ वर्षीया रुद्रबहादुर भुजेलले महासंघद्वारा सुरु भएको सो अभियानमा रु १० हजार प्रदान गरेका थिए । “अक्सिजनकै अभावले कसैले ज्यान गुमाउन नपरोस् भनेर सानो सहयोग गरेको हुँ ।” उनले भने, “अक्सिजन उत्पादन नै सुरु हुँदा खुसी लागेको छ ।”
गत वैशाख २८ गतेदेखि जेठ ८ गतेसम्म सञ्चालन गरिएको अभियानमा झण्डै रु ८० लाख संकलन भएको थियो । उक्त रकममध्ये रु ६० लाख महासंघले गुल्मी अस्पताललाई प्रदान गरेको थियो । पत्रकार महासंघका शाखा अध्यक्ष टोपलाल अर्यालले अक्सिजन उत्पादन सुरु हुनु आफुहरुको लागि सबैभन्दा खुसिको क्षण भएको बताए ।
संघीय सरकारले प्लान्टको लागि रु एक करोड विनियोजन गरेको थियो । रु एक करोड ३१ लाखमा प्लान्ट निर्माण सम्पन्न भएको थियो । अस्पतालका प्रमुख डा. उत्तम पच्याले अक्सिजन प्लान्टले आफूहरुलाई उपचारमा धेरै सहजाता मिलेको बताए । उत्पादन सुरु भएसँगै अब बाहिरबाट अक्सिजन ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ ।
प्लान्टबाट २४ घण्टामा ४० ठूला सिलिण्डर भर्न सकिन्छ । भने सिधा पाइप जडान गरेर ५६ जनालाई अक्सिजन पुर्याउन सकिने जनाइएको छ । महामारीको समयमा दैनिक २० सम्म अक्सिजन खपत भएकोमा अहिले दैनिक पाँचवटा खपत भइरहेका छन् । “ढुक्कसँग बिरामीको उपचार गर्न पाएका छौँ, अक्सिजन सकिने कुनै डर छैन ।” डा. पच्याले भने, “हामीलाई आवश्यक अक्सिजन यही उत्पादन हुँदा उपचारमा सहजता मिलेको छ ।” रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij