२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

तिलोत्तमामा नगरस्तरीय सरसफाई ८० औं श्रृंखलामा

बिहिवार , पौष १, २०७८

भैरहवा, १ पुस ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित सरसफाई अभियान; ८० औं श्रृंखलामा पुगेको छ । ८० औं श्रृंखला अन्तर्गत् बिहीबार वडा नम्बर ३ को सीमानगरमा नगरस्तरीय सरसफाई गरिएको छ । कोभिड-१९ को कारण प्रभावित सरसफाई अभियानले केही समययता निरन्तरता पाएसँगै समुदाय स्तरमा हुने सरसफाईमा नगरबासीहरु पुनः सक्रिय हुन थालेका छन् ।

जनप्रतिनिधि, कर्मचारी, विभिन्न टोल विकास संस्था, क्लव, आमा समूहलगायतको सहभागितामा सरसफाई गरिएको हो । यस्तै नगरमा रहेका विभिन्न टोल विकास संस्थाहरुले समेत बिहीबार आ–आफ्नो क्षेत्रमा सरसफाई गरेका छन् ।

तिलोत्तमाले पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणालाई प्रभावकारी बनाउन सरसफाई अभियानलाई प्राथमिकतामा राख्दै आएको छ । नगरपालिकाले हरेक महिनाको १ र १५ गते नगर स्तरीय सरसफाई अभियान सञ्चालन गर्दै आएको छ भने टोल विकास संस्थाहरुले तोकिएका दिनका अतिरिक्त शनिबार वा सार्वजनिक विदाको दिनमा समेत सरसफाई कार्यक्रम गर्दै आएका छन् ।

सरसफाई अभियानलाई सम्बोधन गर्दै नगरप्रमुख बासुदेव घिमिरेले तिलोत्तमाले भौतिक विकाससँगै मानवीय विकासलाई पनि उत्तिकैं महत्व दिएको बताउँदै नगरलाई सफा, स्वच्छ, हराभरा बनाउने दायित्व सबै नगरबासीको भएको बताए । उनले सबैको सामूहिक प्रयासले नगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउन बनाउन सकिने बताउँदै जथाभावी फोहोर गर्नेलाई कारवाही हुने स्पष्ट पारे । सो अवसरमा कार्यवाहक वडाध्यक्ष तेजबहादुर गुरुङ लगायतले सरसफाईमा स्थानीय समुदायको भूमिकाका बारेमा प्रकाश पारेका थिए ।