२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

चाडपर्व नजिकिदै जाँदा नवलपरासीमा प्याजको तस्करी बढ्यो

सशस्त्र प्रहरीद्धारा एक पिकपसहित ५७ बोरा प्याज नियन्त्रणमा

बिहिवार , आश्विन २२, २०७७

परासी, २२ असोज । 
पश्चिम नवलपरासीमा प्याजको तस्करी बढेको छ । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी तस्करहरुले भारतबाट अवैध रुपमा प्याज नेपाल भित्राउने कार्य बढ्दै गएको छ । कोरोनाको माहामारीले नेपाल–भारत सिमा बन्द रहेको त्यसमाथि भारतले नेपालमा प्याज निर्यातमा रोक लगाएकोले तस्करहरु सोको मौका छोप्दै चाडपर्वमा बढी खपत हुने प्याजको कालोबजारी गर्ने उद्देश्यले प्याजको तस्करीमा जुटेको प्रहरीको भनाइ छ ।

तस्करहरु साइकल तथा मोटरसाइकलमा भारतबाट अवैध नाका प्रयोग गरी प्याज नेपाल भित्राउने र मंहगोमा प्याज विक्रीवितरण गरिरहेको पाइएको छ । भारतबाट भन्सार छली नेपाल भित्राएका प्याजको भन्सार तथा बिल भरपाई नपाएपछि प्रहरीले उक्त अवैध प्याज नियन्त्रणमा लिन थालेको छ ।   

प्याजकै तस्करी गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल २६ नंं गण हेडक्वाटर बेलासपुरले एक पिकपसहित १ लाख ४८ हजार ५ सय मुल्य बराबरको ५७ बोरा अवैध प्याज बरामद गरेको जनाएको छ । गणको सिमा गस्ती टोलीले विशेष सुराकीको आधारमा सरावल गाउँपालिका ६ रामपुर खडौनाबाट प्रदेश ३–०१–०२२ च ३२०७ नम्बरको पिकअप गाडीमा लोड गरेको २७ क्वीन्टल अर्थात ५७ बोरा अवैध प्याज बरामद गरी आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाएको छ । बरामद प्याज र पिकपको मुल्य १६ लाख ४८ हजार ५ सय रुपैया सशस्त्र प्रहरीले अनुमान गरेको छ ।

त्यस्तै दुईदिन अगाडी मात्रै जिल्ला प्रहरी कार्यालय नवलपरासीले पनि २२ लाखको २ पिकपसहित अवैध प्याज नियन्त्रणमा लिइ भन्सार कार्यालय पठाएको थियो । यता सशस्त्र प्रहरी बल नेपाल २६ नं गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक महेश अधिकारीले चोरी तस्करी न्युनीकरणका लगि सिमा नाकामा कडा निगरानी बढाएका छन् । चोरी तस्करी नियन्त्रण गर्न सिमामा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको र बरामद मालसमानबाट लाखांैको राजस्व भन्सार दाखिला समेत गरिएको बताएका हुन् । तस्करी नियन्त्रणमा शसस्त्र प्रहरी र नेपाल प्रहरी दुवै सक्रिय भएको छ ।