
सोमवार , मंसिर २७, २०७८
काठमाडौं, २७ मंसिर ।
ग्लोबल आइएमई बैंक लिमिटेडको चुक्ता पूँजी रु २३ अर्ब ७९ करोड पुगेको छ । बैंकको आज स्म्पन्न १५औँ वार्षिक साधारणसभामा प्रस्तुत भएको विवरणअनुसार आव २०७७÷७८ को कूल मुनाफाबाट बैंकले आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको १३.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पूँजीमा वृद्धि भएको हो । बैंकले आव २०७७/७८ मा सञ्चालन मुनाफा रु सात अर्ब नौ करोड र कर पछिको मुनाफा रु चार अर्ब १६ करोड आर्जन गरेको थियो । प्रस्तावित लाभांश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजीमा वृद्धि भएको हो ।
साधारणसभामा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक आफ्नो स्थापना कालदेखि नै सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिको परिपालनमा गर्दै आफ्ना शेयरधनीलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए । बैंकले सदाझैँ आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप निक्षेप संकलन, कर्जा लगानी तथा व्यवसाय विस्तारका सन्तुलित रुपमा बैंकको उपस्थिती वृद्धि गर्दै जाने उनले बताए । कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल प्रविधिमार्फत सेवा प्रवाह गर्दै ग्राहकलाई थप प्रभावकारी सेवा पुर्याउन लागीपरेको पनि उनले जानकारी दिए । बैंकले अझै सर्वसुलभ बैंकिङ सेवा प्रदान गर्ने तथा राष्ट्र बैंकले २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्षको रुपमा मनाउने घोषणाअनुसार देशैभर डिजिटल भुक्तानीका लागि बैंकिङ साक्षरता कार्यक्रम आयोजना गर्दै जाने पनि उनले जानकारी दिए ।
बैंकको खुद मुनाफा आव २०७६/७७ को तुलनामा आव २०७७/७८ मा ४३.२० प्रतिशतले वृद्धि भई रु चार अर्ब १६ करोड पुगेको हो । हाल बैंकले रु दुई खर्ब ७४ अर्ब भन्दा बढी निक्षेप संकलन गर्नुका साथै रु दुई खर्ब ७० अर्ब भन्दा बढी कर्जा लगानी गरेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७६ जिल्लामा २८७ शाखा सञ्जाल तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित ८५० भन्दा बढी सेवा केन्द्रबाट २७ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा प्रदान गर्दै आएको छ । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij