२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

विमानस्थलमा काम गर्ने रुचि भएकाहरुका लागि बुटवलमा तालिम हुँदै 

आइतवार , मंसिर २६, २०७८

बुटवल, २६ मंसिर । 
विमानस्थलमा काम गर्ने र विमानस्थलको सेवालाई गुणस्तरीय बनाउने उद्देश्यले बुटवलमा गुणस्तरीय विमानस्थल सेवासम्बन्धि तालिम हुने भएको छ । विमानस्थलभित्र हुने ¥याम्प सर्भिस, सुरक्षा संवेदनशिलता, कार्गाे सेवा, स्थलगत व्यवस्थापन, ट्राभल एण्ड टुरिजम लगायतका विषयमा दक्ष जनशक्ति उत्पादनका लागि बुटवलमा तालिम हुन लागेको हो । 

रुपन्देहीको भैरहवामा सञ्चालन हुन थालेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि दक्ष जनशक्ति उत्पादनका लागि एक्स इन्ष्टिच्युट अफ हस्पिटालिटीले दिने भएको हो । विश्व प्रख्यात तालिम प्रदायक आएटा ट्रेनिङ्ग सेन्टरबाट सम्बन्धन प्राप्त एलिजम एचआर सलुशन र एक्स एक्स इन्ष्टिच्युट अफ हस्पिटालिटी बुटवलले शनिबार बुटवलमा गरेको अभिमुखिकरण कार्यक्रममा विमानस्थलमा काम गर्ने दक्ष जनशक्तिका लागि बुटवलमा तालिम दिन थालिएको बताइएको थियो । 

एलिजममा अध्यक्ष शरदचन्द्र काफ्लेले स्थानीय जनशक्ति स्थानीयस्तरकै हुनुपर्ने मान्यतालाई जोड दिएर बुटवलमा विमानस्थलीय जनशक्ति उत्पादन तालिम सञ्चालन गर्न थालिएको बताए । उनले विश्व बजारमा भएका हवाई कम्पनी र विमानस्थलमा बिक्ने सर्टिफिकेट आएटाको हुने भएकाले आएटासंग सम्बन्धन प्राप्त एलिजम र बुटवलको एक्स ईन्ष्टिच्युटको समन्वयमा तालिम गर्न थालिएको बताए । उनका अनुसार आएटा डिप्लोमा कोर्समा एयरपोर्ट ¥याम्प सर्भिसेस, प्यासेन्जर ग्राउण्ड सर्भिस, सेक्युरेटी, कार्गाे सेवा, ट्राभल एण्ड टुरिजम लगायतका विषयमा तीनमहिने तालिम हुनेछ । तालिम पश्चात विश्वका कुनै पनि विमानस्थलमा काम गर्न सजिलो हुने पनि उनले दावी गरे । 

एक्स इन्ष्टिच्युट अफ हस्पिटालिटी बुटवलका प्रबन्ध निर्देशक निलम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा आएटाका रिजनल ट्रेनिङ्ग डायरेक्टर लोकेश मट्टा, विटीटिएम कोओर्डिनेटर अन्जु खनाल, एलिजमका प्रशिक्षक दिपक गुरुङ्ग लगायतले यसक्षेत्रमा विमानस्थलीय व्यवस्थापन जनशक्ति उत्पादन तालिम आवश्यक रहेको बताए । सञ्चारकर्मी झविन्द्र देवकोटाको सञ्चालनमा भएको कार्यक्रममा विमानस्थलमा काम गर्न रुचि भएका दुई दर्जन बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।