
आइतवार , मंसिर २६, २०७८
दमौली, २६ मंसिर ।
तनहुँको बन्दीपुर गाउँपालिकाले दुई वडालाई धान र सुन्तला पकेट क्षेत्र घोषणा गरेको छ । व्यवसायिक रूपमा धान र सुन्तला उत्पादनका लागि गाउँपालिकाले दुई वडालाई पकेट क्षेत्रका रूपमा घोषणा गरेको हो ।
बन्दीपुर–४ झप्रीडाँडालाई धान र बन्दीपुर–६ काफलस्वाँरालाई सुन्तला पकेट क्षेत्र घोषणा गरिएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन् । “धान र सुन्तलाको व्यवसायिक उत्पादन गर्दै कृषकलाई आत्मनिर्भर बनाउन यो कार्यक्रम लागू गरेका हौँ”, उनले भनिन्, “कार्यक्रमअन्तर्गत कृषकलाई सघाउँछौँ ।”
साना व्यावसायिक कृषि उत्पादन केन्द्र (धान पकेट) विकास कार्यक्रम झप्रीडाँडास्थित खलटारी, बेलटारी, तिसहुरे, साठी खेतमा सञ्चालन हुनेछ । तीन सय रोपनी क्षेत्रफलमा सञ्चालन हुने कार्यक्रमका लागि गाउँपालिकाले रु पाँच लाख ७० हजार अनुदान दिएको छ । त्यसमा कृषकले रु तीन लाख ३७ हजार ५०० लागत सहभागिता बेहोर्नुपर्ने हुन्छ ।
निर्वाहमुखी धानखेती गर्दै आएका कृषकले यो कार्यक्रमपछि व्यावसायिकरूपमा धानखेती गर्ने लक्ष्य लिइएको गुरुङले बताइन् । “धान उत्पादन वृद्धिका लागि यान्त्रीकरणमा पनि सहयोग गर्छौँ”, उनले भनिन्, “यसले कृषकलाई व्यावसायिक बनाउनुका साथै धान उत्पादनमा सहयोग पुग्नेछ ।”
बन्दीपुर–६ काफलस्वाँरामा साना व्यवसायिक कृषि उत्पादन केन्द्र (सुन्तला पकेट) कार्यक्रमका लागि गाउँपालिकाले रु पाँच लाख ५० हजार अनुदान दिनेछ । रु दुई लाख ७२ हजार ५०० कृषकले लागत सहभागिता बेहोर्नुपर्ने हुन्छ । दुई सय ५० रोपनी क्षेत्रफलमा सञ्चालन हुने कार्यक्रममार्फत यस गाउँमा सुन्तला उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ ।
काफलस्वाँरा गाउँपालिकाको राम्रो सुन्तला उत्पादन हुने क्षेत्र हो । यहाँका ३२ घरधुरीले सुन्तला खेती गर्दै आएका छन् । यहाँबाट वार्षिक करिब रु २० लाखसम्मको सुन्तला उत्पादन हुने गरेको छ । सुन्तलाको पकेट क्षेत्रका रूपमा घोषणा गरिएपछि यहाँ वार्षिक रूपमा सुन्तला उत्पादन वृद्धि हुने लक्ष्य लिइएको गाउँपालिकाका अध्यक्ष पूर्णसिह थापाले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij