
शनिवार , मंसिर २५, २०७८
भैरहवा, २५ मंसिर ।
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्धल्याण्ड र रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीको संयुक्त आयोजनामा शनिबार भैरहवामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सिद्धार्थनगर नगरपालिका–१२ नयाँ सडकस्थित केयर प्लस डाईग्नोष्टिक एण्ड प्याथोलोजी ल्याबोरेटरी प्रा.लि.मा रक्तदान कार्यक्रम भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले विगतमा रक्तदानका लागि प्रयास गरे पनि लो ब्लड प्रेसरका कारण रक्तदान गर्न नसकेको बताए । उनले पहिलोपटक रक्तदान गर्न लागेको जानकारी दिए । रोटरी र रोट्रयाक्ट क्लबले राम्रो काम गरेको र क्लबलाई सहयोग गर्न आफू तत्पर रहेको उनले बताए ।
विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष भिमसेन कर्माचार्यले रक्तदान महान काम भएको बताए । उनले रक्तदानले मान्छेको ज्यान बचाउन सहयोग गर्ने बताए । ‘मुलुकको विकासको लागि युवा अघि बढ्नुपर्छ, ’उनले भने ।
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी वर्ष २०२१/२२ का अध्यक्ष डा. शतदल चौधरीले रक्तदान गरे पछि रगत आफैलाई काम लाग्ने बताए । उनले रक्तदानले शरीर स्वस्थ राख्न मद्दत पुग्ने बताए । रक्तदान कार्यक्रमका लागि स्थान उपलब्ध गराउने केयर प्लस डाईग्नोष्टिक एण्ड प्याथोलोजी ल्याबोरेटरी प्रा.लि.लाई उनले धन्यवाद ज्ञापन गरे ।
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी वर्ष २०२१/२२ का सचिव कृष्ण प्रसाद अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा ६० जनाले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक तथा केयर प्लस डाईग्नोष्टिक एण्ड प्याथोलोजी ल्याबोरेटरी प्रा.लि.का प्रबन्ध निर्देशक डा. अनिता शाह (शाही)ले बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij