
शनिवार , मंसिर २५, २०७८
बुटवल, २५ मंसिर ।
एक वर्ष लामो समय लगाएर सामाजिक परिवर्तन केन्द्रले गरेको अनुसन्धानमा स्थानीय सरकारसम्म नागरिकको पहुँच पुग्न कठिन देखाएको छ । शुक्रबार बुटवलमा नागरिक संलग्नता वडापत्र सम्बन्धि सरोकारवालाबीच छलफल कार्यक्रममा केन्द्रका कार्यक्रम म्यानेजर निश्चल खनालले संघीयताको लामो समय बितिसक्दा पनि स्थानीय सरकारमा नागरिकको पहुँच पुग्न नसकेको अध्ययनको क्रममा निष्कर्ष देखिएको बताए ।
नागरिक संगठनको १२, स्थानीय तहको १२ र मिडियाको ६ वटा भूमिकाहरु निभाउन सके मात्र पहुँच पुग्ने केन्द्रको अध्ययनको निष्कर्ष छ । तीन तहकै सरकारको समन्वय अभावको कारण गरेका राम्रो कामको समेत अपनत्व हुन नसकेको उनले दुःखेसो गरे । जनताको आवश्यकता र मागको आधारमा योजना नपार्ने कारण पनि दिगो विकासमा समस्या भएको उनले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष टंक पराजुलीले सीमित श्रोतसाधनबाट असीमित आवश्कयता पूरा गर्नुपर्ने बाध्यता स्थानीय सरकारमा रहेको दुःखेसो गरे । टोल विकास संस्थालाई प्राथमिकता दिएर योजनाहरु बनाउँदा अपांगता, दलित, गरिब बसोबासी हुने स्थानमा लागत सहभागिता कम गर्ने गरेको उनले बताए ।
कार्यक्रममा केन्द्रका अध्यक्ष पवन रायले नागरिकहरु आफ्नो अधिकारबारे बुझ्ने, सरकारसम्म आफ्नो अधिकार लग्ने र फरक विचार राखे सहभागीता नै नगराउनेसम्मको समस्यामा रहेको अनुसन्धानको क्रममा सेवाग्राहीहरु भेटिएको उनले बताए । जनप्रतिनिधि, स्थानीय सरकार, नागरिक समाजका सरोकारवालाहरुबीच छलफल र समन्वय जरुरी रहेको उनले बताए । नागरिक समाजले भूमिकासंगै सरकारको भूमिका महत्वपूर्ण हुने उनले बताए ।
कार्यक्रममा पत्रकार दामोदार खनालले समुदायमा धेरै समस्या रहेको बताए । योजना बनाउने र पार्न समेत पाईलापिच्छे भष्ट्राचार रहेको र जसको सुनुवाई नहुँदा नागरिक पीडामा रहेको उनले बताए ।
कार्यक्रममा बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजंग केसीले नागरिक सहभागिको नाममा गलत काम भएको बताए । फरक विचार राख्नेहरुलाई सहभागी नै नगराउने प्रवृत्ति समुदायमा रहेको उनले गुनासो गरे ।
जेष्ठ नागरिक समाज तथा वडा नम्बर ८ का टोल समिति अध्यक्ष राधेश्याम राजभण्डारीले कर तिरेको रकमको तुलनामा ज्यादै न्यून योजना निर्माणमा बजेट पर्ने गरेको दुःखेसो गरे । टिआई नेपाल रुपन्देहीका महासचिव दिपक ढकाल, भुपु सैनिक अध्यक्ष रबिन्द्र कार्की, पत्रकार भवानी पाण्डेले नागरिकको पहँुचसंगै कर्तव्यमा जोड दिनुपर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij