२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

१६ बुँदे घोषणापत्र जारी गर्दै लुम्बिनी प्रदेशस्तरीय किशोरी सम्मेलन सम्पन्न

पुष्पा हरिजनको अध्यक्षतामा किशोरी सञ्जाल गठन

शुक्रवार , मंसिर २४, २०७८

बुटवल, २४ मंसिर ।
लुम्बिनी प्रदेशस्तरीय प्रथम किशोरी सम्मेलन बुटवलमा भएको छ । सम्मेलनले १६ बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै किशोरी तथा बालिकाको आवश्यकता अनुसारको नीति तथा योजना निर्माण गरी कार्यान्वयन गर्न किशोरीहरुले माग गरेको छ । 

किशोरी तथा बालिकाहरुको अधिकार कुण्ठित गर्ने सबै प्रकारका हानीकारक परम्परागत अभ्यासविरुद्व तीनै तहको सरकारले अन्य सरोकारवालाहरुसंगको समन्वयमा अभियानहरु सञ्चालन गर्न उनीहरुले आग्रह गरे । स्थानीय तहमा तत्काल किशोरी विकास समिति तत्काल गठन गर्न सम्मेलनले माग गरेको छ । यस्तै सबै स्थानीयतहमा बालविवाहविरुद्धको रणनीतिक योजना निर्माण गरी कार्यान्वयन गर्न आग्रह गरेका छन् । 

कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै योजना आयोगका उपाध्यक्ष बामदेव गौतमले किशोरीहरु देशका खम्बा भएकाले उनीहलाई सशक्त बनाउन सबैले पहल गर्नुपर्ने बताए । किशोरीले आफूमाथि परेको हिंसाका बारेमा आवाज उठाउन आग्रह गर्दै उनले आगामी वर्षदेखि किशोरीका लागि छुट्टै बजेटको व्यवस्था गरिने बताए । 

कानून, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले घोषणापत्र बुझ्दै मन्त्रालयले बालबालिकाको क्षेत्रमा विशेष काम गर्ने योजना रहेको बताए  । मन्त्रालयकी उपसचिव शारदा बस्यालले किशोरी उमेर सबैभन्दा बढी हिंसा हुने उमेर भएकाले त्यस बेलाको समस्या समाधान गर्न र गतिशिलतालाई रोक्न नदिन विशेष योजना आवश्यक पर्ने बताइन् । 

युएनएफपीएका अपेक्षा राणाले तीन तहकै सरकारले बालिका÷किशोरी लक्षित कार्यक्रमलाई केन्द्रमा राखेर सञ्चालन गनुपर्ने बताइन् । स्कूल शिक्षा, बृहत्तर यौनिकता तथा प्रजनन् स्वास्थ्यबारे अभिमुखिकरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व र सहभागिता, तीनै तहका सरकारले चेतना र रोकथाममूलक कार्यक्रम गर्नुपर्ने उनले बताइन् । 

कार्यक्रममा सहजीकरण गदै अभियानकर्ता राधा पौडेलले किशोरीहरु सशक्तिकरण विश्लेषण र अबको बाटो र महिनावारी विभेदका विषयमा आवाज उठाउन आग्रह गरिन् । गैरसरकारी संस्था महासंघका उपाध्यक्ष सुमित्रा शर्माले घरपरिवारदेखि समाज र राज्यले किशोरीका विकास र अधिकारमा लगानी गर्नुपर्ने बताइन् ।  

युएनएफपीएका राम थापाले किशोरीहरुलाई राज्यको मुलधारमा नल्याएसम्म परिवर्तन हुन नसक्ने भन्दै राज्य किशोरीहरुको हकहितमा राज्य गम्भिर हुनुपर्नेमा जोड दिए । 

कार्यक्रममा बोल्दै सञ्चारिका समुह लुम्बिनीका महासचिव अमृता अनमोलले लुम्बिनी प्रदेशस्तरीय सञ्जालले आगामी दिनमा अझै किशोरीका क्षेत्रमा बलियो भएर काम गर्न आग्रह गरिन् ।

लुम्बिनी प्रदेशस्तरीय किशोरी सम्मेलनले सम्मेलनले पुष्पा हरिजनको अध्यक्षतामा लुम्बिनी स्तरीय किशोरी सञ्जाल गठन भएको छ । जसको सदस्यमा सुनिता हरिजन (रुपन्देही), निलिसा गिरी (बाँके), नर्मा वि.क., अनुजा नेपाली, पुजा पौडल, शिला नेपाली, निष्ठा हमाल, करुणा आचार्य, मनेका राउत, दुर्गा वि.क., अल्पिया अन्सारी र मुना वि.क. चयन भएका छन् । 

नवनिर्वाचित अध्यक्ष पुष्पा हरिजनले महिलाको मुख्य समस्या योनीमाथिको नियन्त्रण भएकाले त्यसका विषयमा छलफल र बहस जरुरी रहेको बताइन् । उनले सबै किशोरीलाई सञ्जालले समेटेर अगाडि बढाउने प्रतिवद्धता पनि व्यक्त गरिन् । 

कार्यक्रममा किशोरीहरुले आफ्नो शिक्षा, स्वास्थ्य, सीप, चेतना विकास लगायतका बारेमा प्रश्न गरेका थिए । सम्मेलनमा प्रदेशका १२ जिल्लाका जना किशोरीको सहभागिता रहेको थियो । जसा युएनफपीए, सञ्चारिका समूह नेपाल, केएर, गुड सेफरड इन्टरनेशनल फाउण्डेशन नेपाल, ओरेक, किशोरी अधिकार मञ्च लगायतले सहकार्य गरेका थिए ।