२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

पाँच करोड लागतमा लुम्बिनीमा रामजानकी हनुमान मन्दिर बन्ने

बिहिवार , मंसिर २३, २०७८

भैरहवा, २३ मंसिर ।
विवाह पञ्चमीको अवसर पारेर लुम्बिनीमा श्री रामजानकी हनुमान मन्दिरको शिलान्यास गरिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १ स्थित भगवानपुर (खुनगाई) मा ५ करोड रुपैयाँ बढीको लागतमा बन्ने रामजानकी मन्दिर शिलान्यास गरिएको हो । 

लुम्बिनी सांस्कृतिक नगरपालिकाले धर्म, संस्कृतिको संरक्षण र प्रबद्र्धनका लागि मन्दिर निर्माण गर्न लागेको नगरप्रमुख मनमोहन चौधरीले बताए ।

बुधबार एक कार्यक्रमकाबीच राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले मन्दिरको शिलान्यास गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र लुम्बिनी सांस्कृतिक नगरपालिकाको संयुक्त साझेदारीमा ५ करोड ३१ लाख ९९ हजार ४२ रुपैयाँको लागतमा बन्ने अनुमान गरिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका इञ्जिनियर राजेश कोहारले बताए ।

६५ प्रतिशत मन्त्रालय र ३५ प्रतिशत नगरपालिकाको लगानीमा एक बिघा एक धुर क्षेत्रफलमा रामजानकी मन्दिर, धर्मशाला, क्यान्टिन, ल्याडस्केपिङ, शौचालय, पोखरी, ब्रिज र बाउन्ड्री वाल निर्माण हुने इञ्जिनियर कोहारले जानकारी दिए । 

एक आकर्षक डिजाइनमा बन्ने उक्त मन्दिरको क्षेत्रफल दुई हजार स्क्वायर फिट रहनेछ । मन्दिर शिलान्यासमा राम जन्मभूमि अयोध्याको पवित्र माटो र सीताराम नामक ईट्टा राखिएको छ । अयोध्या नगरका पार्षद मनोज श्रीवास्तवले लुम्बिनी नगरप्रमुख चौधरीलाई राम जन्मभूमिको पवित्र माटो र ईट्टा हस्तान्तरण गरेका थिए ।

lum 2.jpg

बाबुल लुम्बिनी सांस्कृतिक एसोसिएट प्रा.लि.ले उक्त मन्दिर निर्माणका लागि ३ करोड ८५ लाख चार हजार एक सय ७५ रुपैयाँमा १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको नगरपालिकाले जानकारी दिएको छ । 

सो अवसरमा राम जन्मभूमि आयोध्या हनुमानगढीका महन्त एवं सन्त राजु दासजी महाराज र हिन्दु परिषद नेपालका अध्यक्ष सन्तोष पटेलको विशेष उपस्थिति थियो ।

लुम्बिनीमा बन्ने सो मन्दिरले पर्यटकीय विकास र आर्थिक समृद्धिका लागि उल्लेख्य भूमिका खेल्ने विश्वास गरिएको छ ।